
पाल्पा। पाल्पा सदरमुकाम तानसेनमा वैदेशिक रोजगारीको प्रक्रियामा नैतिक भर्ती अभ्यासहरुको सुनिश्चितता सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । सेन्टर फर मिग्रेशन एण्ड इन्टरनेसनल रिलेसन (सिएमआइआर)काठमाडौंको आयोजना तथा इसरा इन्स्टिच्युट को सहयोग र सहकार्यमा कार्यक्रम भएको हो ।
अन्तरक्रिया कार्यक्रममा सिएमआइआर काठमाडौंका कार्यकारी निर्देशक युवराज नेपालले संस्थाले वैदेशिक रोजगारी सवालमा गर्दै आएको कामको विषयमा जानकारी गराए। उनले यसका साथै संस्थाले विदेशमा गएर हराएका व्यक्तिको खोजिकार्य, मृत्यु भएका व्यक्तिहरुको सव नेपाल ल्याउने, अलपत्र र अवैधानिक रुपमा विदेशमा अलपत्र अवस्थामा रहेका व्यत्तिहरुको उद्धार र पैरवीका क्षेत्रमा काम गर्दै आएको जानकारी दिए ।
कार्यकारी निर्देशक नेपालले संस्थाले वैदेशिक रोजगारी सम्बन्धि अध्ययन अनुसन्धान गर्ने र आवश्यक परेको समयमा सरकारलाई सल्लाह सुझाव दिदै आएको बताए । उनले नेपालको वैदेशिक रोजगारीको अवस्था, समस्या, चुनौती र अवसरका विषयमा सहभागीहरुलाई जानकारी गराउनुभयो । वैदेशिक रोजगारमा जानु पूर्व आवश्यक जानकारी उपलब्ध गराउन सके सम्भावित जोखिम न्यूनीकरण हुने भएकाले समयमा सहि सूचना प्राप्त गर्ने सुनिश्चितताको लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा कार्यकारी निर्देशक नेपालले जोड दिए ।
सेन्टर फर मिग्रेशन एण्ड इन्टरनेसनल रिलेसन काठमाडौंकी कार्यक्रम संयोजक विभूती किरण घिमिरेले प्रवासी नेपाली कामदारहरुको लागि लक्षित गरेर तयार गरिएको सूचनामूलक मोबाइल एप्स उज्ज्वल सपना को बारेमा जानकारी गराइन्। उनले समय अनुसार प्रविधिमैत्री रुपमा वैदेशिक रोजगारी सम्बन्धि आवश्यक जानकारी समेटेर तयार गरिएको मोवाइल एप्सको प्रयोग गर्दा वैदेशिक रोजगारमा सहभागी हुन इच्छुक सबैका लागि सूचना प्राप्त गर्न सहज हुने बताइन । आवश्यक सूचना, जानकारी र उजुरी समेत गर्न मिल्ने एप्स भएकोले यसको प्रयोग बारे सरोकारवाला निकायले सहजीकरण गर्दा वैदेशिक रोजगारी सुरक्षित,मर्यादित र व्यवस्थित बनाउन सकिने विश्वास व्यक्त गरिन ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरु सीप र श्रमस्वीकृत गरेरमात्र वैदेशिक रोजगारी जानुपर्नेमा जोड दिए । उनले जिल्लाको वैदेशिक रोजगारीलाई सुरक्षित, मार्यदीत र व्यवस्थित बनाउन स्थानीयस्तरमा नै आप्रवासन सूचना केन्द्रको स्थापना गरी सेवा दिनुपर्ने बताए। उनले जिल्लाका स्थानीय सरकार जिम्मेवार भएर सम्भावित व्यक्तिले सहि समयमा सहि सूचना प्राप्त गर्ने वातावरण निर्माणका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
अन्तरक्रिया कार्यक्रममा तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गाबहादुर थापाले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता भएको बताउदै यसलाई सुरक्षित बनाउन स्थानीय सरकार कटिबद्ध रहेको बताए। उनले गन्तव्य मुलुकको भाषा, संस्कृति, कानुनका साथै सीप सिकेर वैधानिकबाटोबाट मात्र जवैदेशिक रोजगारीमा जानुपर्ने बारेको ज्ञान दिनुपर्ने बताए । उनले विदेश जाने सोच भएका युवालाई पूर्व तयारी,विदेशमा रहँदाको अवस्था र फर्किदाँ सम्म आवश्यक सूचनाको बारेमा स्पष्ट भएर वैदेशिक रोजगारीमा जान आग्रह गरे ।
कार्यक्रममा सहभागी नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रबन्धक सोवाकान्त न्यौपाने, गाउँले देउराली साप्ताहिका सहसम्पादक रामचन्द्र नेपाल, अधिबक्ता मिना जिसीलगायतले प्राप्त जानकारी र सीप विदा विदेश जाँदा विभिन्न् खाले समस्या आइपर्ने गरेको बताए। उनीहरुले सरकारले व्यवस्था गरेको नीति र कानुन पनि पूर्णरुपमा कार्यान्वयन नभएकोले पनि बिचौलियाको चलखेलमा जनता ठगिने अवस्था रहेको बताए।
कार्यक्रममा सहभागीहरुले नीतिगत व्यवस्था बारे जानकारी नहुँदा पनि ढाटिने र ठगिने भएकोले अनिवार्य रुपमा सहि सूचना लिएरे वैधानिक प्रकृयाबाट वैदेशिक रोजगारीमा सहभागी हुने सुनिश्चितता हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले यसका लागि सुरक्षित वैदेशिक रोजगारका विषयमा ग्रामीणतह सम्म जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।