रामपुरमा आन्तरिक आम्दानी वृद्धिका लागि व्यवसायको अनुगमन

तानसेन। आन्तरिक आयवृद्धि गर्न आर्थिक वर्ष २०८०।०८१ लाई आर्थिक वृद्धिदर वर्षको रुपमा लिएको रामपुर नगरपालिकाले बजार क्षेत्रका व्यवसाय तथा फर्मको अनुगमन थालेको छ । रामपुर नगरपालिकाले व्यवसायीलाई करको दायरामा ल्याउन पहल सुरु गरेको हो ।

आइतबार नगरको मुख्य बजार रामपुर–५ बेझाँड क्षेत्रका पसल तथा व्यवसायको अनुगमन गरेको छ । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्व रहेको बजार अनुगमन समितिले बेझाँड बजार क्षेत्रका ८७ वटा पसल तथा व्यवसायको अनुगमन गरेको थियो । जसमध्ये अधिकांश नगरपालिकामा व्यवसाय नविकरण नगरेको, केहीले दर्ता नगरेको, प्यान नं. नलिएको, घरभाडा सम्झौता नभएको, मूल्य सूची नराखेको, खरिद तथा विक्री विल नभएको पाइएको रामपुर नगरपालिकाका प्रशासन अधिकृत युवराज पन्थीले जानकारी दिए ।

अनुगमन टोलीले उनीहरुलाई साउन मसान्त भित्र दर्ता, नविकरण तथा अन्य प्रक्रिया पुरा गर्न निर्देशन दिएको छ ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले चालु आर्थिक वर्षलाई नगरको आर्थिक वृद्धिदर वर्षको रुपमा लिएको जानकारी दिदैं विकासको लागि लक्ष्य अनुसार आन्तरिक स्रोत जुटाउन करको दायरालाई फराकिलो बनाएको बताइन्।  “करको दायरामा ल्याई नगरको आन्तरिक आम्दानी वृद्धि संगै व्यवसायीहरुलाई भविष्यमा अप्ठ्यारो नहोस् भन्ने उद्देश्यले आवश्यक प्रक्रिया पुरा गरेर मात्र व्यवसाय सञ्चालनमा सचेतना जगाउन अनुगमन सुरु गरिएको हो ।”  उनले भनिन् ।

नगरपालिकाले गत वर्ष बजारलाई व्यवस्थित बनाउन पहल थालेको थियो । आगामी दिनमा नविकरण, दर्ता प्रक्रिया संगै बजारका सामाग्रीको गुणस्तर मापन र व्यवसाय सञ्चालनका मापदण्ड लगाएत विषयमा विषयगत निकाय संग सहकार्य गरेर अघि बढ्ने उपप्रमुख  थापाले  बताइन् ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले दर्ता तथा प्रक्रिया पुरा गरेर, व्यवसायको प्रकृति र उद्देश्य अनुसार मात्र कारोबार गर्न आग्रह गरे । रामपुर नगरपालिकाले यस वर्षदेखि घर बहाल कर उठाउनका लागि सरोकारवालाहरु संग निरन्तर छलफल गर्दै आएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा आन्तरिक आय बाट ७ करोड संकलन गर्ने लक्ष्य लिएको छ ।

अनुगमन टोलीले पहिलो चरणमा बेझाँड बजार स्कुलरोठ र केवुललाई क्षेत्रमा सञ्चालनमा रहेका पसल तथा व्यवसायको अनुगमन गरेको हो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा रहेको टोलीमा रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, इलाका प्रहरी कार्यालय रामपुरका वरिष्ठ प्रहरी नायव निरीक्षक दल बहादुर बुढा, नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्ल, रामपुर नगरपालिकाका प्रेस सल्लाहाकार दान बहादुर हिस्की, रामपुर नगरपालिकाका आन्तरिक लेखा परीक्षक हृदयश पन्थी, प्रशासन शाखा अधिकृत युवराज पन्थी, सुचना तथा प्रविधि अधिकृत महेन्द्र श्रेष्ठ लगाएतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया