
तानसेन। पाल्पामा गुडिरहेको जिपमाथि पहिरो खस्दा जिपमा सवार तीनजना घाइते भएका छन् । सोमबार बिहान सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा नजिकै गुडिरहेको जिपमाथि पहिरो खस्दा जिपका चालकसहित तीनजना घाइते भएका हुन् ।
घाइते हुनेमा तानसेन नगरपालिका वडा नं. १४, अर्गलीका ४० वर्षीय दिलीप न्यौपाने, नवलपुरकाे त्रिवेणीका २४ वर्षीय चन्दन कार्की र जिप चालक रुपन्देहीकाे सुद्धोधन गाउँपालिका ३२ वर्षीय विवेक कार्की रहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि एक्कासी पहिरो खसेको थियो । घाइतेहरुलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
हिजोदेखि परेको वर्षासंगै राजमार्गमा पहिरो खसर केहीबेर सवारी आवागमन समेत बन्द भएको थियो। हाल पहिरो हटाएर एकतर्फी रुपमा सवारी आवागमन गरिएको प्रहरीले जनाएके छ।
सो क्षेत्रमा बाह्रै महिना पहिरो खस्ने समस्याले यात्रुले सास्ती खेप्दै आएका छन् ।