
तानसेन। देशव्यापी रुपमा फैलिएको पशु चौपायामा लाग्ने ‘लम्पी स्किन’ रोगबाट पाल्पामा तीन सय ३० गाईगोरु मरेका छन् । जिल्लाका दशैं स्थानीय तहमा गरी उक्त संख्यामा गाईगोरु मरेका हुन् ।
पाल्पामा हालसम्म छ हजार ५७० बढी पशुमा संक्रमण फैलिएको भेटेरिनरी अस्पताल तथा पशु सवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा १३ वटा भैँसीलाई समेत लम्पी स्किन संक्रमण भएको छ ।
संक्रमण फैलिएपछि सबैभन्दा धेरै बगनासकालीमा ७५ पशु मरेका छन् । पूर्वखोलामा ६८, तानसेन नगरपालिकामा ४७, रैनादेवी छहरामा ४५ पशु मरेका छन् । यस्तै निस्दीमा २५, माथागढीमा २४, रिब्दीकोटमा १८, रामपुर नगरपालिकामा १२, तिनाउ गाउँपालिकाका ११, रम्भा गाउँपालिकामा ५ गाईगोरु मरेको विज्ञ केन्द्रका सूचना अधिकारी डा. नवीन बस्यालले बताए।
संक्रमित भएकामध्ये चार हजार २ सय ९३ पशुको उपचार गरिएको केन्द्रले जनाएको छ । विज्ञ केन्द्रका निमित्त प्रमुख दुर्गाप्रसाद खनालका अनुसार संक्रमण देखिएको गाईगोरुको विज्ञ केन्द्रबाट १ हजार २ सय र स्थानीय तहबाट ३ हजार ९३ को उपचार गरिएको हो ।
यो रोगको संक्रमण पाल्पामा पहिलो पटक माथागढीको हात्तीलुङ र गोठादीका किसानले पालेको गाईगोरुमा देखिएको थियो । यसैबीच हाल भने जिल्लाका विभिन्न स्थानमा गरी लम्पी स्किन रोग नियन्त्रणका खोप लगाउन सुरु गरिएको छ ।
हालसम्म जिल्लाका आठ पालिकामा गरी १ हजार ५ सय १० वटा पशुलाई खोप दिइएको केन्द्रले जनाएको छ । पहिलो चरणमा उन्नत जातका गाईमा रोगविरुद्धको खोप सुरु गरेको हो ।
निस्दी र रिब्दीकोट गाउँपालिका बाहेक अन्य सबै तहमा खोप दिन सुरु गरिएको विज्ञ केन्द्रले जनाएको छ ।