
तानसेन। पाल्पामा सदरमुकाम तानसेनबाट प्रहरीले लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका–२ नारायणस्थानस्थित एक घरमा डेरा गरी बस्दै आएका सर्लाहीको इश्वरपुर नगरपालिका वडा नं –१२ स्थायी ठेगना बताउने २४ वर्षीय कमल कुमार खड्का रहेको प्रहरीले जनाएको छ ।
खड्काले कोठाबाटै लागुऔषध लुकाई छिपाई बेचविखन गर्दै आएको भन्ने गोप्पे सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।
खड्काले ग्यास सिलिण्डरमाथि चामलको बोरामा कपडाभित्र लुुकाई राखेको अवस्थामा प्रहरीले लागुऔषध फेला पारेको थियो । उनको कोठाबाट डाइजेपाम, फेनारगन र आइपीपीएल टालजेसिक लेखेको लागुऔषध भेटिएको सूचना अधिकारी थापाले जानकारी दिए ।
प्रहरीका अनुसार एम्पुल १।१ वटा गरी ३ वटा बनाई टेपले बाँधी राखेको अवस्थामा डाईजेपाम ३१ एम्पुल, फेनारगन ३१ एम्पुल र आइपीपीएल टालजेसिक ३१ एम्पुल गरी ९३ एम्पुल फेला परेको हो ।खाटमा लुुकाई राखेको अवस्थामा प्रयोग गरेको जस्तो देखिने सिररिन्ज निडिलसहितको १५ थान, निडल ११ थान र प्रयोग गरेको ८ थान एम्पुल समेत प्रहरीले फेला पारी जफत गरेको जनाएको छ ।
निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।