आगामी सोमबारसम्म वर्षाकाे सम्भावना

काठमाडाैं। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेकाले आगामी सोमबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसनुको न्यून चापीय रेखा नेपाल नजिकसँगै भारतको विहारको उत्तर पश्चिम भू–भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ ।

आज  राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षा भएको थियो ।

महाशाखाले विशेष मनसुन बुलेटिन जारी गर्दै शनिबारदेखि सोमबारसम्म देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

साथै, सहरी क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन तथा सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer