
कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले ऐतिहासिक, सांस्कृतिक, भाषाभाषीलगायतको पक्षमा नगर धेरै धनी रहेको बताए।उनले चन्द्रागिरि नगर क्षेत्र आदिम कालदेखि नै महत्वपूर्ण रहनुको साथै ऋषिमुनिको तपोभूमि समेत रहेको उल्लेख गरे।
उनले अब विभिन्न भाषाभाषीका विषयलाई समेटेर नगरमा पाठ्यक्रम ल्याउन लागेको जानकारी गराए। प्रमुख गिरीले नगरको सांस्कृति पक्षमात्र नभई नगर भित्रका सबै क्षेत्रको अनुशीलन गरिनु पर्ने र त्यसको लागि नगरले आवश्यक सम्पूर्ण सहयोग गर्ने समाजलाई आश्वासन दिए।
इतिहास अनुसन्धान अध्ययन समाजका अध्यक्ष रवीन्द्र रिजालले चन्द्रागिरि भित्र साहित्यकार, कलाकार, डाक्टर, ईञ्जिनियर देखि धेरै दिग्गज व्यक्तित्वहरु बसोबास गरेपनि नून नपुगेको तरकारी जस्तो चन्द्रागिरि नगरपालिका भएको बताए। उनले तीन हजार वर्षदेखि यहाँका व्यक्तिहरु लेखन कार्यमा रहेको र लेखनबाटै आफ्नो इतिहास बनाउन सफल भएपनि अहिले हामीले त्यस्ता दिग्गज व्यक्तिलाई विर्सिदा इतिहास नै समाप्त हुन पुगेको उल्लेख गरे।
उनले दोश्रो पाणिनीको रुपमा चिनिएका व्यक्तित्व सोमनाथ सिग्देल यही भूमिका भएका र शिखरनाथ सुवेदी, अंशुबर्मालाई व्याकरण लेख्न सहयोग गर्ने व्यक्ति चन्द्रब्रमा गोमि पनि यही चन्द्रागिरिकै भएको स्मरण गराए। यस्तै संसारकै पहिलो कानून लिच्छविकालिन अभिलेख पनि चन्द्रागिरिमै हुनु नगरबासीले आफुलाई गर्वको रुपमा लिनु पर्ने उनले स्पष्ट पारे।
इतिहासकार, साहित्यकारलगायत विभिन्न विधाका व्यक्तित्वहरु यही ठाउँका हुनु चन्द्रागिरिको सानको विषय भएको उल्लेख गरे। तर, विस्तारै यस्ता व्यक्तित्वहरुलाई हाम्रो समाजले विर्सनु, नचिन्नु भनेको आफ्नो अस्तित्व र पहिचान गुमाउन पुगेको भन्दै चिन्ता व्यक्त गरे ।
चन्द्रागिरि साहित्य समाजका अध्यक्ष भीमनारायण श्रेष्ठले समाजमा भएका सास्कृतिक पक्षलाई केही लिपिबद्ध गर्ने प्रयास मात्र गरेको बताए।
उनले संस्था गठन गर्न सजिलो बचाउन साह्रै गाह्रो पर्ने उल्लेख गर्दै समाजले छिट्टै अर्को सांस्कृतिक पक्षलाई समेटेर भाग दुई निकाल्न लागेको पनि जानकारी गराए। श्रेष्ठले समाजले वर्षमा दुई वटा किताब निकाल्ने समेत प्रतिबद्धता व्यक्ति गरे।
कार्यक्रममा प्रदेश सांसद, नगर उपप्रमुख, चन्द्रागिरि नगरपालिकाको शिक्षा शाखाका प्रमुख, विभिन्न साहित्यकार, बुद्धिजिविलगायतको उपस्थिति रहेको थियो ।