‘युवालाई स्वदेशमै बस्ने वातावरण सृजना गर्न जरुरी छ’

तानसेन। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले युवालाई देशमै बस्ने वातावरण सृजना गर्नुपर्ने बताएका छन् । पाल्पाको तानसेनमा आयोजिक अन्तरक्रियामा बाल्े वक्ताहरुले सो कुरा बताएका हुन् ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले देशलाई समृद्धिको दिशातर्फ लैजान युवाहरु तयार हुनुपर्ने बताए । उनले युवाहरुले पनि राजनीति तर्फ सकरात्मक चासो राख्न जरुरी रहेको धारण व्यक्त गरे । खनालले स्थानीय सरकारले पनि युवा लक्षित कार्यक्रमहरु गर्न आवश्यक रहेकाले आफुले सबै स्थानीय सरकारसँग समन्वय गर्ने बताए । उनले तीनै तहको सरकारले युवालाई देशमै बसेर काम र आर्यआर्जनसंग जोड्न जरुरी रहेको पनि बताए ।

जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीले युवालाई स्वरोजगार बनाउने दिशामा सरकारले नीति ल्याउनुपर्ने बताए । पत्रकार नारायण न्यौपानेले स्थानीय सरकारहरु दिवसका बारेमै अनविज्ञ रहेको बताउँदै बढ्दो वैदेशिक यात्रालाई रोक्ने खालका कार्यक्रम ल्याउन तीनै तहका सरकार चुकेको बताए ।

नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका संघका शाखा प्रवन्धक शोवाकान्त न्यौपानेले कार्यक्रम माथि प्रकाश पार्दै सीपमूलक शिक्षा, जिल्लामा युवाहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए । उनले राष्ट्रिय जनगणना २०७८ अनुसार पाल्पामा २ लाख ४५ हजार २७ जनसंख्या रहेकोमा ४५ हजार ९ सय ९९ युवा रहेको बताए ।

यो कूल जनसंख्याको १८ दशमलव ७७ प्रतिशत हो । न्यौपानेका अनुसार १५ वर्षदेखि २४ वर्षकाहरुलाई युवाको तथ्यांकमा समावेश गरिएको छ । संघका कोषाध्यक्ष माधवप्रसाद अर्यालले अधिकास युवाहरु विदेशमा जस्तो सुुकै काम गर्न पनि तयार हुने तर स्वदेशमै केही नगर्ने प्रचलनले समस्या उत्पन्न गरेको बताए । उनले उर्जावान युवाहरुलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गरे ।

यसैबीच नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका युवा सदस्य कमल बस्याललाई सम्मान गरिएको छ । युवा परिचालनमा महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै उनलाई सम्मान गरिएको हो।  ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ ः नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ भन्ने नाराका साथ शनिबार दिवस मनाइएको उक दिवसको आयोजना नेपाल परिवार नियोजन संघ पाल्पा र रोट्रयाक्ट क्लव अफ पाल्पाको संयुक्त रुपमा गरेका थिए ।

युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।

नेपालमा युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् । तर, युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन नहुँदा युवा लाभान्वित बन्न सकेका छैनन् ।

सरकारले विसं २०७२ मा राष्ट्रिय युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ ।

परिवार नियोजन संघको शभाहलमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष सुुशिलराज शाक्यको अध्यक्षता, रोट्रयाक्ट क्लव अफ तानसेनका प्रेसिडेन्ट विक्रम सिंहको स्वागत, संघका सदस्य आदित्य पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया