भदौ १० गतेदेखि आइपिओ निष्कासन गर्दै माण्डु हाइड्रोपावर

काठमाडाैं। सर्वसाधारणका लागि माण्डु हाइड्रोपावरले भदौ १० गतेदेखि प्रिमियममा आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता सेयर प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा बाँडफाँट नभएको ७९ लाख ३० कित्तासहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता सेयर निष्कासन गर्न लागेको हो।

सोमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ।

बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्नेछ।

सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।

उक्त आइपिओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि भदौ २४ गतेसम्म लम्बिनेछ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

तपाईको प्रतिक्रिया