घर-टहरा भत्काएको ठाउँमा नगरपालिकाले ढुंगा छाप्ने

तानसेन। पाल्पा सदरमुकाम तानसेनको मख्खन टोलमा नगरपालिकाले घर टहरा भत्काएको क्षेत्रलाई व्यवस्थापन गर्न सुरु गरिएको छ । ऐतिहासिक पाल्पा दरबार संग्रहलय परिसरलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले घर टहरा भत्काएको क्षेत्रमा ढुङ्गा छाप्ने काम गर्न लागेको हो ।

नगरपालिकाले गत वैशाख ६ गते पाल्पा दरबार परिसरका ५७ घर टहरा भत्काएको थियो ।

तानसेन नगरपालिकाको वडा ३ र ४ को क्षेत्रमा पर्ने दरबार, सडक र सित्तलपाटी क्षेत्रमा ढुङ्गा छाप्ने कामका लागि ठेक्का सुरु गरी संचरना भत्किएको स्थानलाई व्यवस्थापन गर्न लागिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए।

ढुङ्गा छाप्ने काम गर्न एवी विल्डर्स ग्रुप एण्ड सप्लायर्स काठमाडौँले ४१ लाख ६९ हजार ६ सय ४३ रुपियाँ ३७ पैसामा असार ९ गते सम्झौता गरेको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिए।

निर्माण कम्पनीले सम्झौताअनुसार २०८० मङ्सिर ३० गतेसम्म काम सम्पन्न गर्नेगरी उक्त कार्य सुरु भएको तानसेन नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया