
तानसेन। पाल्पामा पछिल्ला वर्षहरुमा आत्महत्या गर्नेको संख्या उल्लेख्य रुपमा बढेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार एक दशकको अवधिमा जिल्लामा सात सय २७ जनाले आत्महत्या गरेर ज्यान गरमाएका छन् ।
पाल्पा प्रहरीका प्रमुख एसपी हेरम्भ शर्माका अनुसार आर्थिक वर्ष ०७०। ७१ मा पाल्पामा आत्महत्या गर्नेको संख्या ५४ जना रहेकोमा ०७१।७२ मा ५५ जना यसैगरी आर्थिक वर्ष ०७२।७३ मा ७५ जना पुगेको हो।
आर्थिक वर्ष ०७३।७४ र ०७४।७५ मा आत्महत्या गर्नेको संख्या समान ६७–६७ रहेको देखिएपनि त्यसयता भने त्यो संख्या क्रमश बढेको छ ।
आर्थिक वर्ष ०७५।७६ मा आत्महत्या गर्नेको संख्या बढेर ९० पुगेको थियो । जुन १० वर्षको तथ्यांकमा सबैभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।यस्तै ०७६।७७ मा ८३, आर्थिक वर्ष ०७७।७८मा ७६, आर्थिक वर्ष ०७८।७९ मा ७५ जना तथा गत आर्थिक वर्ष ०७९।०८० मा ८५ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
यसरी आत्महत्या गरेकामध्ये ६१९ जनाले झुन्डिएर प्राण त्याग गरेका छन् । प्रमुख शर्माका अनुसार गत आर्थिक वर्षमा मात्रै आत्महत्या न्यूनीकरणको अभियानस्वरुप सचेतनाका लागि ३५ वटा कार्यक्रम गरिएको थियो । तर पनि धेरै मानिसले स्वास्थ्यका कारण, एक्लोपनाको कारण, आवेशमा आएर र आर्थिक अभावले गर्दा आत्महत्या गर्ने गरेको पाइएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
यसैबीच चालु आर्थिक वर्षको एक महिनाको अधविमा पनि १० जना भन्दा धेरैले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
यो अवधिमा आत्मत्या गर्नेहरु पनि अधिकांश झण्डिएरै प्राण त्याग गरेका छन् ।