बगनासका स्थानीयले धानेको रोपाइँजात्रा

तानसेन। रोपाइँ सकेपछि हरेक वर्ष गाईजात्राको भोलिपल्ट मनाइने मौलिक पर्व रोपाइँजात्रा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । सांस्कृतिक पर्वका रुपमा पाल्पाका विभिन्न स्थानमा निकालिने रोपाइँजात्रा पछिल्लो समय निस्किनै छाडेको छ ।

कही वर्षअघिसम्म जिल्लाका दर्जनबढी स्थानमा निकालिने यो जात्रा यो वर्ष एक ठाउँमा मात्रै सिमित भएको छ ।

वर्षेधान रोपेर सकेपछि खुसियालीमा मनाउने यो पर्व खासगरी किसानको पर्वका रुपमा लिइन्छ । गाईजात्राको भोलिपल्ट असारे भाका र पन्चेबाजाको तालमा गीत गाउदै नाच्दै, हलगोरु, बाउसे र रोपारीसहितका मानिसहरु सडकमा उत्रिएर मौलिक रोपाइँको झल्को दिने यो जात्रा निकाल्न आर्थिक अभावले समस्या भएको स्थानीयले बताएका छन् ।

नेवार समुदायबाट निकाल्न सुरु भएको यो जात्रा किसानले खुसियालीका रुपमा मनाउने गरेपनि पछिल्ला वर्षहरुमा मनोरञ्जनका साधानमा भएको विकाससंगै हटाउँदै गएको पाइन्छ ।

जिल्ला सदरमुकाम तानसेनसंगै अन्य शहरहरुमा निकालिने यो जात्रा केही वर्षदेखि नायरका स्थानीयले मात्रै धान्ने गरेका छन् । अन्य स्थानमा हराउँदै गएको हुँदा आफूहरुले परम्परादेखि निकाल्दै आएको जात्रा संरक्षणका लागि पहल गरेको स्थानीय विनोद परियारले बताए । विगतदेखि मनाउँदै आएको यो जात्रा निकाल्न धेरै पैसा लाग्ने भएपनि आफूहरुले निरन्तरता दिएको नायरका यज्ञप्रसाद श्रेष्ठले बताए ।

मानोरञ्जनका साधानमा भएको विकास, युवा शक्ति गाउँमा नबस्नु र आर्थिक अभावका कारण जात्रा निकाल्न समस्या भएको हुँदा स्थानीय सरकारले पनि जात्रा निकाल्न सहयोग गर्दै आएको छ । नायरका समूहलाई जात्रा निकाल्न वडा कार्यालयले समन्वय गरी गाउँपालिकाबाट आर्थिक सहयोग प्रदान गर्दै आएका चापपानीका वडाध्यक्ष ठोनेश्वर तिमिल्सिनाले बताए ।

खेतमा काम गरेर थाकेका कृषकलाई मनोरञ्जन दिन निकालिने यो जात्रा अहिले संस्कृति बन्दै आएको छ । अहिले यसको महत्व बढेको हुँदा जात्रा संरक्षण गरेर आउँदो पुस्तामा मौलिक धान रोपाइँको झले मेटाउनका लागि सबैले सहयोग गर्नुपर्ने स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया