गौ वंश हत्याको विरुद्धमा शान्ति सद्भाव र्‍याली निकालिने

तानसेन। गौ वंश हत्याको विरुद्धमा पाल्पामा शान्ति सद्भाव र्‍याली निकालिने भएको छ । विश्व हिन्दु महासंघ पाल्पाको नेतृत्वमा ओमकार परिवारको संयुक्त आयोजनामा र्‍याली निकाल्ने भएका हुन् ।

जिल्लाको सदरमुकाम  तानसेनमा र्‍याली निकाल्ने तयारी भइरहेको शनिबार तानसेन पत्रकार सम्मेलन गरी आयोजकले जानकारी  दिएको छ । धरानलगायत देशका विभिन्न ठाउँमा भएको गौ हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै र्‍याली आयोजना गरिएको विश्व हिन्दु महासंघ पाल्पाका अध्यक्ष कमलराज पौडेलले बताए ।

देशमा गौ हत्या अन्त्य हुनुपर्ने, गौ हत्या सम्बन्धि बनेको संवैधानिक कानूनको पूर्ण पालना हुनुपर्ने, धर्मान्तरण रोकिनुपर्ने, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने, सामजिक सद्भाव कायम गर्नुपर्ने लगायतका माग राखी दबाबमूलक शान्तिपूर्ण सद्भाव र्‍याली निकाल्न लागिएको पौडेलले बताए। र्‍याली तानसेन टुंडीखेलबाट सुरु हुनेछ ।

र्‍यालीमा जिल्ला भरका एक हजार बढीको सहभागिता रहने आयोजकको अनुमान छ । बिहान ११ बजेदेखि सुरु हुने र्‍यालीमा संविधान अनुसार देश चल्न पर्छ, हामीले केही लाद्न खोजेको छैनौं, सबै जातजाति, लिंग, धर्मको देश हो,। कसैले कसैलाई अपमान गर्न भएन जस्ता प्ले कार्डहरु प्रर्दशन गरिनेछ ।

र्‍यालीको मुख्य उदेद्दय शान्ति सद्भाव कायम गर्नुपर्ने भएको महासंघका केन्द्रीय सदस्य भीमलाल भट्टराईले बताए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको