रामपुरमा निर्माण भएकाे गौशालिकको अनावरण

पाल्पा।  रामपुर नगरपालिका–६, मिलनचोकमा निर्माण भएको गौशालिकको सोमबार अनावरण गरिएको छ । रामपुर नगर गौशाला समितिले निर्माण गरेको कामधेनु गाईको शालिक वैदिक विधि पूर्वक प्राण प्रतिष्ठा गरी अनावरण गरिएको हो ।

गौशालिक निर्माण संगै मिलनचोकलाई गौशाला चोक नामाकरण गरिएको छ । गाई र दुध खाँदै गरेको बाच्छोसहितको गौशालिक अनावरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले पछिल्लो समय धार्मिक विवादहरु बाहिर आईरहेको सन्दर्भमा सहिष्णुता कायम गरि एकले अर्को धर्मको सम्मान गर्दै अघि बढ्न आग्रह गरिन्।

चल्दै आएकोे धर्म र संस्कृतिलाई निरन्तरता दिनु आवश्यक रहेको बताउँदै  उपप्रमुख थापाले  गाई राष्ट्रिय जनावर मात्रै नभई धार्मिक, संस्कृतिक महत्व रहेकाले संरक्षणमा ध्यान दिनु हामी सबैको दायित्व भएको उल्लेख गरिन ।

गाईको संरक्षणका लागि सञ्चालन हुँदै आएको गौशाला व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको उनकाे भनाइ थियाे ।

रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले गौमाताले दैनिक जीवनमा मात्र नभई संस्कार र संस्कृति संरक्षणमा पनि टेवा दिने बताउनुभयो । पण्डित दिननाथ भण्डारीले गौमाताको महत्व सबैभन्दा ठूलो भए पनि गाई सबैभन्दा हेलामा परेको बताए।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु मायाँ ढकालले नेपालमा धार्मिक द्वन्द सिर्जना गर्न विभिन्न प्रयास भैरहेको भन्दै यस प्रति सचेत हुन आवश्यक रहेको बताए।

कार्यक्रममा नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सल्लाहाकार लेखनाथ पोखरेल, नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष यम बहादुर सुनार, राष्ट्रिय प्रजातन्त्र पार्टीका पाल्पाका सदस्य राजेन्द्र प्रसाद ढकाल र राष्ट्रिय जनमोर्चा रामपुरका नगर अध्यक्ष रामप्रसाद गैरेलगायतले बोल्दै धर्मको नाममा एक माथि अर्को प्रहार गर्ने प्रवृति बढ्दै गएको बताएका थिए । हाम्रो धर्म र संस्कृति प्रतिमा आँच आउने गरी भएका गतिविधि प्रति गम्भीर हुन आवश्यक भन्दै गौशालिक निर्माणले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताएका थिए ।

रामपुर नगर गौशाला समितिका अध्यक्ष हुमनाथ न्यौपानेले पछिल्लो समय राष्ट्रिय जनावर संगै माताको रुपमा पुज्दै आएको गाईको हत्या गर्ने, हेला गर्ने प्रवृति बढ्दै गएकाले गाईको संरक्षणका लागि सन्देश प्रवाह गर्न गाईको शालिक निर्माण गरिएको बताए।उनले नगर गौशालाको पहिचान संगै यसलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न ९० हजारको लागतमा शालिक निर्माण गरिएको जानकारी दिए।

रामपुर नगर गौशाला समितिका अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम समितिका उपाध्यक्ष थानेश्वर अधिकारीको स्वागत बाट सुरु भएको थियो । सहभागीहरुलाई सल्लाहाकार सागर प्रसाद देवकोटाको धन्यवाद ज्ञापन गरेका थिए ।  कार्यक्रमको सञ्चालन सहसचिव सुदिप गैरेको सञ्चालनमा भएको थियो ।

भजनकृतनका साथ भएको कार्यक्रममा धार्मिक तथा गौसंरक्षणका अभियन्ता, पण्डित, राजनैतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया