तानसेन । पाल्पामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली ७ झाक्रीस्थानका २८ वर्षीय सुधन भट्टराई रहेको प्रहरीले जनाएको छ।
आज दिउँसो जिल्ला सदरमुकाम तानसेनदेखि बगनासकाली गाउँपालिका वडा नम्बर ७ खानीगाँउका लागि छुटेको लु १ ज १७५९ नम्बरको जिपले बगनासकाली ९ चाप्पानीस्थित भित्रि पक्की सडकमा भट्टराई सवार लु ५५ प ६८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईलाई उद्दार गरी तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका लागि ल्याइएको थियो।
प्रहरीका अनुसार मिसनमा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत ग्राण्डी अस्पताल काठमाण्डौं पठाएकोमा उपचारका क्रममा बेलुका ६ बजे तिर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सन्तोष चन्दका अनुसार प्रहरीले चालक र जिपलाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान जारी राखेको छ ।