पाल्पामा नेपाल वडा संघ गठन, यस्ता छन् संघले गर्ने कार्यहरु..

तानसेन। पाल्पामा नेपाल वडा संघ गठन भएको छ। जिल्लाका दश स्थानीय तहका ८१ वडाका जनप्रतिनिधिको भेलाले वडा संघको तर्दथ समिति गठन गरेको हो ।

१६ सदस्यीय समितिको अध्यक्षमा तानसेन नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजेश कुमार अर्याल, उपाध्यक्षमा रामपुर नगरपालिका वडा न ६ का दिवाकर देवकोटा र तानसेन ५ का रामबहादुर रावललाई सर्वसम्वत चयन गरेको छ।

यस्तै सचिवमा बगनासकाली गाउँपालिका ९ का थानेशवर तिमल्सिना, सहसचिवमा माथागढी गाउँपालिका १ का राजकुमार पन्थी ,कोषाध्यक्षमा तिनाउ गाउँपालिका वडा न ५ का इन्द्रा चिदी चयन भएका छन् ।

उक्त्त भेलाले सदस्यहरूमा रामपुर नगरपालिका वडा न ३ का दामोदर पाठक ,निस्दी गाउँपालिका वडा न ३ का नवीन्द्र सोती, तानसेन नगरपालिका वडा न ६ का सागरमान महर्जन ,रिब्दीकोट गाउँपालिका वडा न १ का चिरञ्जीवी पोखरेल र रैनादेवी छहरा गाउँपालिका ४ का गोविन्द रायमाझी चयन भएका छन् ।

सरकारी हिसाबले काम गर्ने निकाय वडा कार्यालय हुँदा पनि कार्यालयलाई आर्थिक अधिकार, प्रशासनिक अधिकार नभएको हुँदा वडा कार्यालयले खुलेर काम गर्न नसकेको अवस्थामा संघको गठन गरिएको वडाअध्यक्षहरुले बताएका छन् ।

नव गठित संघलाई देशव्यवापी रुपमा विस्तार गरेर महासंघ बनाउने तयारी अध्यक्ष राजेश कुमार अर्यालले बताए । वडामा आर्थिक अधिकारसहित कर्मचारी व्यवस्थापन, लगायतका माग गर्नका लागि संघ गठन गरिएको बताइएको छ ।

नव गठित संघले निम्न कार्यहरुलाई प्राथमिकतामा राखेको घोषणासमेत गरेको छ ।

पाल्पा घोषणा !
जिल्ला समन्वय समिति पाल्पाद्वारा मिति २०८०।०६।१२ मा आयोजित पाल्पा जिल्लाका वडाअध्यक्षहरुको भेलामा गरी वडा कार्यालयलाई प्रदान गरिएका अधिकार, कत्र्तव्य र जिम्मेवारीका विषयमा सामूहिक छलफल गरी यो पाल्पा घोषणा गर्दछौँ ।

१) पाल्पा जिल्लाका सम्पुर्ण वडाध्यक्षहरु पुर्ण इमान्दार, निष्ठा र सेवाभावका साथ काम गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
२) नेपालको सरकारी संरचनाको जगको रुपमा रहेको स्थानीय तहको तल्लो संरचना वडा कार्यालयलाई आर्थिक अधिकार प्रदान गरी जनतालाई टाढा होइन नजिक सेवा प्रदान गर्ने व्यवस्था मिलाउनु पर्ने ।
३) स्थानीय तहमा सञ्चालित योजनाको सम्झौता र भुक्तानीको अधिकार वडा कार्यालयमा व्यवस्था गर्नुपर्ने ।
४) संघीयताको नाममा केन्द्रिकृत गर्ने ऐन, कानुन र नियमावलीहरु संशोधन गर्नुपर्ने ।
५) वडा भित्रको स–साना विपद समाधान, सामान्य स्टेशनरी, भैपरी आउने समस्या लगायतका लागि पालिकाको केन्द्र धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने ।
६) वडा कार्यालयको सिफारिसमाथि सोधपुछ, सर्जिमिन, प्रहरी सर्जमिन गर्ने क्रियाकलाप अन्त्य गर्नुपर्ने ।
७) स्थानीय तहलाई सञ्चालन गर्न बनेका स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ खर्च गर्ने अख्तियारी र कार्यविधिको दफा ५ मा खर्च खाताको सञ्चालनको अधिकार वडा सचिव र अन्य एक सो सरहको कर्मचारीबाट हुने व्यवस्था मिलाउनुपर्ने ।
८) वडा कार्यालयको सिफारिसको आधारमा सिफारिशकर्तालाई कारबाही हुने व्यवस्थाको अन्त्य हुनुपर्ने ।
९) कर्मचारीले भर्ने फाराममा असल नियतले गरेको भए कारबाही नहुने, जनप्रतिनिधीले भर्ने फाराममा गल्ती भए कारबाही हुने जस्तो विभेदकारी व्यवस्था समायोजन हुनुपर्ने ।
१०) स्थानीय तहको केन्द्रमा आएको स्रोत र अधिकार कानुनी व्यवस्था नगरी तल नझर्ने हुनाले वडा तहसम्म अधिकार र स्रोत समानुपातिक रुपमा सुनिश्चित गर्नुपर्ने ।
११) बाँदर, दुम्सी, बँदेल जस्ता वन्यजन्तु आक्रमणबाट आजित जनतालाई मुक्ति र न्याय दिन सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने ।
१२) सिंहदरबारको अधिकार घरघरसम्म पु्र्याउने र केन्द्रित शासन प्रणालीलाई विकेन्द्रित गर्ने नारालाई साँचो अर्थमा कार्यान्वयन गर्न नेपाल सरकार, राजनीतिक दल, प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यहरुसँग आह्वान र अपिल गर्ने ।
१३) स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दरबन्दी कायम गरिएका कर्मचारीको अविलम्व व्यवस्था गर्ने ।
१४) वडा कार्यालयमा परका राजनीतिक, कानुनी र सार्वजनिक रुपले परेका समस्याहरुलाई एकतावद्ध रुपले समाधान गर्ने र देशभरका वडाअध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यहरुलाई संगठित रुपले आवाज उठाउने यो अभियानमा सहभागी हुन आह्वान गर्ने ।
१५) वडाअध्यक्षहरुको जिल्लाव्यापी भेला आयोजना गर्न सहयोग गर्ने जिल्ला समन्वय समिति पाल्पालगायत सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्ने ।  

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको