
तानसेन। पाल्पामा आगलागीबाट हुने विपद् जोखिम पूर्वतयारीको अभ्यास गरिएको छ । जिल्ला सुरक्षा समितिको आयोजना तथा नेपाली सेना, प्रहरी, रेडक्रस सोसाइटी र तानसेन नगरपालिकाको संयोजनमा तानसेनको टुँडिखेलमा आगलागी सम्बन्धी घटना, जोखि तथा पूर्वतयारीका विषयमा प्रयोगात्मक अभ्यास गराइएको हो ।
आगलागीको जोखिमलाई मध्यनजर गरेर विपद् प्रतिकार्यका लागि अभ्यास गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।
आगलागी नियन्त्रण, घटनाको तथ्यांक संकलन, खोज, उद्दार, प्राथमिक उपचार, आपतकालीन स्वास्थ्य उपचारलगायतका विषयमा अभ्यास गराइएको थियो । आगलागीमा पर्नेहरुको उद्दार, घाइतेलाई उपचार, आगलागी नियन्त्रण, सुरक्षाकर्मीको तयारी लगायतका विषयलाई प्रयोगात्मक अभ्यासबाट देखाइएको थियो ।
नेपाली सेनाका सकल दर्जा तथा रेडक्रस र प्रहरी जवानले विपद् आइपर्दा के गर्ने भन्ने विषयमा अभिनय गरेका थिए । विपद्का घटना जतिबेला जहाँ पनि हुन सक्ने भएकाले पूर्वतयारी स्वरुप कृत्रिम घटनामा अभ्यास गराइएको तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताइन् ।
अभ्यासमार्फत सचेतना फैलाएर वर्षेनी हुने क्षति न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्य राखिएको बताइएको छ ।