डेंगु संक्रमण रोकथाम र नियन्त्रणका लागि सरोकारवालाबीच अन्तरक्रिया

तानसेन। पाल्पामा डेंगु संक्रमण तिव्र गतिमा बढेपछि सरोकारावाला निकायबीच अन्तरक्रिया गरिएको छ। स्वास्थ्य कार्यालय पाल्पा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुको संयक्त अयोजनामा जिल्लास्थित सरोकारवाला निकायसंग डेंगु रोगको संक्रमण रोकथाम र नियन्त्रण गर्नका लागि छलफल गरिएको हो ।

पछिल्लो समय जिल्लामा डेंगुको संक्रमण बढेसंगै दशै स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहितको उपस्थितीमा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा महाशाखाका भेक्टर बर्न डिजिज शाखा प्रमुख डा. गोकर्ण दाहालले डेंगु रोगको संक्रमण, देशभरको अवस्था तथा रोकथामका लागि अपनाउनुपर्ने उपाएबारे सहजिकरण गरेका थिए ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले पाल्पा जिल्लामा डेंगुको संक्रमणको अवस्था, नियन्त्रणका लागि गरिएका पहलहहरुबारे जानकारी दिएका थिए । डा. गिरीका अनुसार यो वर्षमात्रै जिल्लाका चार अस्पतालको तथ्यांक मात्रै हेर्दा चार सय १ जनाको डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै सो रोगको संक्रमणबाट हालसम्म तीन जनाले ज्यान गुमाएको पनि उनले बताए ।

यस्तै निजी स्वास्थ्य संस्था र क्लिनिकहरुमा गरिएको परीक्षणमा यो वर्ष मात्रै दुई सय जनाबढीमा संक्रमण पुष्टि भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । छलफलका सहभागिले स्थानीय तहले थप सचेतनामूलक कार्यहरु गर्नुपर्ने, परीक्षणको दायरा बढाउनुपर्ने र तीनै तहको सरकारले रोग नियन्त्रणका लागि पहल गर्नुपर्ने बताएका थिए ।

पछिल्ला वर्षहरुमा पहाडमा पनि लामखुट्टेको टोकाइबाट सर्ने रोगहरु बढेको हुँदा यसतर्फ गम्भीर हुनुपर्ने पनि सहभागीले बताएका थिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष देशभर ३४ हजार बढीमा डेंगुको संक्रमण देखिएको र जसमध्ये २० जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया