तानसेन। पूर्वी पाल्पाको निस्दी गाउँपालिका वडा नं.–७ ज्यामिरेमा विद्युत् सेवा पुगेको छ । विद्युत् सेवा नपुग्दा अन्ध्यारोमा बस्दै आएका यो गाउँका स्थानीयका लागि विद्युतको केन्द्रीय प्रसारण लाइन पुगेपछि घरसंगै मुहारमा पनि खुसी छाएको छ ।
जिल्लाकै विकट, ग्रामीण भेग मानिने यो पालिकाका विभिन्न वडामा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा विस्तार गरिएको छ । ज्यामिरे, मोटेखरक, अधमारा, सिन्दुरे, सिमलडाँडा र मोटेखरकमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा विस्तार गरिएको वडाध्यक्ष मुक्तबहादुर पाटाले बताए। उनका अनुसार हाल करिब ४५ घरपरिवारमा विद्युत् सेवा विस्तार भएको हो ।
सामुदायिक विद्युत् उपभोगका लागि हरेक वर्ष रकम बुझाउँदै आएका स्थानीयले अहिले केन्द्रीय लाइन जडान भएपछि धेरै सहज भएको बताएका छन् । गाउँपालिका र स्थानीयको अथक प्रयासले गाउँमा विद्युत् सेवा पुर्याउन सफल भएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु बताए । पालिकाभित्र बाँकी रहेका स्थानमा केन्द्रीय प्रसारण लाइनको सेवा विस्तार गर्ने पहल जारी रहेको पनि अध्यक्ष सारुले बताए ।
निस्दीको बेभोके, रोल्लाबास, मदनपुरलगायतका टोलमा विद्युत् विस्तारका लागि खम्बा गाड्ने र तार तान्ने काम भइरहेको छ ।
विद्युत् सुविधाको पहुँच पुगेपछि गाउँमा बत्ती बाल्न, विद्यार्थीलाई पढ्न, मोबाइल चार्ज गर्न, रेडियो, टेलिभिजन प्रयोग, कुटानीपिसानी मिल सञ्चालन गर्न सजिलो भएको छ ।
यसअघि सामुदायिक विद्युत् प्रसारण लाइनबाट निस्दी गाउँपालिकाभित्रका चारघरे, घुल्लीखरक, पोखरीछाप, हुवास र दार्सिङबासमा विद्युत् सेवा पुगिसकेको थियो ।