तानसेन। पाल्पामा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ४१६५ नम्बरको जीप सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन बुटवल खण्डको लामडाँडामा दुर्घटना भएको हो।
प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ का ४५ वर्षीय रेशम गिरी, गुल्मीको रुरु गाउँपालिकास्थित थोर्गाका ४५ वर्षीया तोपकला ज्ञवाली, गुल्मीको इश्मा गाउँपालिका वडा नं. ४ का ३९ वर्षीय दानबहादुर खत्रीको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेहरुको सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। १४ जना सवार रहेको जीप के कारणले दुर्घटना भयो भन्ने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




















