पाल्पामा दुई मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते

तानसेन। पूर्वी पाल्पाको रामपुरमा दुई वटा मोटसाइकल एक आपसमा ठोक्किदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा रामपुर–१० अदमाराका १६ वर्षीय आकाश सारु, सोही स्थानका १७ वर्षीय सुदिप सिंजालीमगर, स्याङ्जाको चापकोट –९, का १९ वर्षीय विदुर भण्डारी, सोही स्थानका १९ वर्षीय सुदिप भण्डारी र ६ वर्षीय बालक एलएस भण्डारी घाइते रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घाइतेहरूमध्ये आकाश, विदुर र सुदिपको अवस्था गम्भीर रहेको र सबै घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका रामपुर–१० बर्दलेबाट रामपुर बजारतर्फ गइरहेको लु २१ प ५८४४ नम्बरको मोटरसाइकलसंग रामपुरतर्फ नै गइरहेको लु २१ प ९९०२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

घटनाबारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया