१९ औं कफी दिवस: पाल्पाका किसानलाई प्राविधिक ज्ञानको कमी, गबाराेकाे समस्या

तानसेन। पश्चिम नेपालका पहाडि जिल्लामा कफीको राम्रो सम्भाव्यता रहेको पाइन्छ । विगतमा कफी खेतीबाट राम्रो उत्पादन लिएका पाल्पाका किसान भने अहिले व्यसायीक रुपमा खेती गर्न सकेका छैनन् । यहाँका किसानले लामो समयदेखि कफी खेती गर्दै आएपनि सरोकारवाला निकायबाट कफीको प्रर्वद्धनका लागि उचित पहल हुन नसक्दा भने सो अनुरुपको खेती विस्तार र यसबाट आयआर्जन गर्न नसकेको पाल्पाका किसानले बताएका छन् ।

विगतका विभिन्न दातृ निकायको सहयोगमा खृती सुरु गरेका किसानले पछिल्ला वर्षहरुमा व्यवसायीक खेती विस्तार गर्न नसकेको बताएका छन् । सरकारी निकायबाट खेती विस्तारसंगै प्राविधिक र अन्य ज्ञान सीपको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको तानसेन ८ की किसान लक्ष्मी मिधुनले बताइन् ।

विगतदेखि नै कफी खेती गर्ने जिल्लाका अधिकांश किसानलाई सेतो गबारोले सताउने गरेको छ । तीनै तहको सरकारले पनि कफीको प्रर्वद्धनका लागि कुनै पहल नगरेको जिल्ला कफी सहकारी संघका संघका अध्यक्ष रामप्रसाद भण्डारीले बताए । उनका अनुसार पछिल्ला वर्षमा खेती गर्ने इच्छा एका किसानलाई प्राविधिक ज्ञान दिन नसक्दा र प्रत्येक वर्ष खेतीमा रोगको प्रकोपले सताउने गर्नाले सास्ती भएको हाे ।

पाल्पाका दशैं स्थानीय तहमा गरी करिब एक सय हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको संघले जनाएको छ । गत वर्ष पालपाबाट करिब २० क्विनटल कफी निर्यात भएको संघका व्यवस्थापक कमलराज खनालले बताए । खनालका अनुसार रोगको समस्या तथा खेती गर्ने युवा शक्तिको कमीका कारण पनि राम्रो उत्पादनको सम्भावना हुँदाहुँदै पनि खेती विस्तार हुन नसकेको हो ।

 

सरकारले तोक्यो न्यूनमत मूल्यः
सरकारले चालु आर्थिक वर्षका लागि कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ । यो वर्ष कफी दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले फ्रेस चेरी, पार्चमेन्ट र ड्राइ चेरी गरी तीन प्रकारका कफीको मूल्य तोकेको हो।

जसअनुसार फ्रेस चेरी ‘ए’ ग्रेडको प्रतिकिलो एक सय रूपैयाँ छ भने ‘बी’ ग्रेडको ९० रूपैयाँ छ। आठ सय मिटरभन्दा माथि प्रांगरिक पद्धति अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने र केलाएर छानिएको चेरी ए ग्रेड अन्तर्गत पर्दछन्। पार्चमेन्ट चेरी ‘ए’ ग्रेडको प्रतिकिलो पाँच सय रूपैयाँ र ‘बी’ ग्रेडको चार सय ५० रूपैयाँ तोकिएको छ।

त्यस्तै, ड्राइ चेरी कफी ‘ए’ ग्रेडको प्रतिकिलो दुई सय रूपैयाँ तोकिएको छ भने ‘बी’ ग्रेडको एक सय ५० रूपैयाँ तोकिएको बोर्डले जनाएको छ । यस वर्ष ‘कफी क्षेत्रको प्रवद्र्धन र संरक्षण, दीगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन’ भन्ने मुल नाराको साथ १९ औं राष्ट्रिय कफी दिवस मनाइएको हो ।

तपाईको प्रतिक्रिया