‘परदेशी २’को व्यापार झण्डै ८ करोड, केही हलमा अझै चल्दैछ चलचित्र

तानसेन। पाल्पाली स्रष्टा नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘परदेशी २’ले राम्रो व्यवसाय गरेको छ ।

दशैंको अवसर पारेर असोजको २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र नेपालका केही हलमा अझै प्रदर्शन भइरहेको छ ।

आउँदो शनिवार चलचित्रले केही हलमा ५१ दिन मनाउन लागेको निर्माता राजेश वंशलले बताए । निर्माता वंशलका अनुसार चलचित्रले नेपालमा झण्डै ८ करोड रुपैयाँको व्यापार (ग्रस कलेक्सन) गरेको छ ।

पाल्पा तानसेनको सन्तोष चलचित्र मन्दिरमा पनि यो चलचित्र लामो समय चलेको थियो ।

सहरका मात्र नभई टाढाटाढाका गाउँगाउँबाट समेत दर्शकहरु तानसेन आएर ‘परदेशी २’ हेरेका थिए । देश तथा विदेशका विभिन्न ठाउँसंगै पाल्पामा समेत यो चलचित्र खिचिएको थियो । नेपालमा सुपरहिट भएसँगै चलचित्रको विदेश प्रदर्शन समेत सुरु भइसकेको छ ।

‘परदेशी २’मार्फत चर्चित गायक प्रकाश सपूतले हिरोको रुपमा चलचित्रमा डेब्यु गरेका हुन् ।

चलचित्रमा प्रकाशका साथमा दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी लगायतको अभिनय छ ।

तपाईको प्रतिक्रिया