पाल्पामा मनाइयो ३६ औं विश्व एड्स दिवस

तानसेन। पाल्पामा ३६ औं विश्व एड्स दिवस मनाइएको छ । ‘समुदायले नेतृत्व गरौं’ भन्ने नाराका साथ एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गराउँदै दिवस मनाइएको हो।

जिल्ला समन्वय समिति पाल्पाको समन्वयका साथै नेपाल परिवार नियोजन संघ, युनाइटेड मिसन अस्पताल, प्रतिबद्ध सहयोग समूह,पाल्पा टेक्निकल इष्टिच्युटको आयोजनामा एड्स दिवस मनाइएको हो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रबन्धक सोवाकान्त न्यौपानेले हाल जिल्लामा तीन सय ५२ जना एचआईभी रोगबाट संक्रमित रहेको तथ्यांक प्रस्तुत गरे ।

तथ्यांकअनुसार संक्रमित बालबालिका २० जना र एआरटि उपचारमा तीन सय ५१ जना रहेका छन् । यस्तै एक सय ८७ महिला र १ सय ६५ पुरुष एचआईभी संक्रमित रहेको पनि उनले बताए।

यसवर्ष पाल्पामा एक जना एचआईभी संक्रमितको एड्सबाट मृत्यु भएको सक्रिय सेवा समाजकी कार्यक्रम संयोजक अस्मिता भण्डारीले जानकारी दिएन्।

 

पाल्पाका तानसेनस्थित युनाइटेड मिसन अस्पताल र रामपुरको रामपुर अस्पतालबाट एआरटी सेवा पाउने व्यवस्था छ ।

संक्रमितको संख्या धेरै भएपनि अपमान, भेदभाव र लाञ्छनाका कारण समाजमा खुल्न नसकेको कार्यक्रमकी प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाकी उपप्रमुख काशिका गैरेले बताइन् ।

युनाइटेड मिसन अस्पतालकी निर्देशक रचेल कारखले गत आर्थिक वर्षमा ६ हजार २ सय ७२ जनालाई जाँच गर्दा २६ जना पोजेटिभ देखिएको बताउँदै यो साउनदेखि कार्तिकसम्म २ हजार १ सय १८ जनालाई जाँच गर्दा एक जना पोजेटिभ देखिएको बताइन् ।

कार्यक्रम नेपाल परिवार नियोजन संघ पाल्पाका कार्यवाहक अध्यक्ष माधव प्रसाद अर्यालको अध्यक्षता, सक्रिय सेवा समाजका विष्णु प्रसाद न्यौपानेको स्वागत, पाल्पा टेक्निकल इष्टिच्युटका प्रिन्सिपल त्रिलोचन पौडेलको धन्यवाद ज्ञापन र नेपाल परिवार नियोजन संघकी युवा सदस्य वर्षा पाण्डेयको संचालनमा सम्पन्न भएको हो ।

सोही अवसरमा युवा विद्यार्थीलाई यो रोगबारे जानकारी दिनुका साथै संक्रमित बालबालिकालाई शैक्षिक सामगरि खरिद गर्नका लागि नगद सहयोग पनि गरिएको थियो ।

तपाईको प्रतिक्रिया