राम्दीमा नयाँ पक्की पुल बन्दै

तानसेन। लुम्बिनी र गण्डकी प्रदेशको सीमा पर्ने राम्दीस्थित कालीगण्डकी नदीमा नयाँ पुल बन्ने भएको छ । पाल्पाको बगनासकाली-५ र स्याङजाको गल्याङ- १ राम्दीमा रहेका कालीगण्डकी नदीमाथि पक्की पुल निर्माणको काम सुरु भएको हो ।

सिद्धार्थ राजमार्ग निर्माण भएका बेला वि.सं २०२८ सालमा ट्रससहितको फलामे पुल निर्माण भएकोमा पुल जीर्ण बन्दै गएपछि नयाँ डिजाइनमा पुल बन्न लागेको हो ।

पुरानो पुल जस्र्ण बन्दै जाँदा पछिल्लो समय १० टन भन्दा धेरै समान बोकेका सवारी साधनलाई सञ्चालनमासमेत रोक लगाइएको थियो । ५२ वर्षअघि बनेको पुल कमजोर भएपछि नयाँ पुल निर्माण सुरु भएको पुल सेक्टर पोखराका आयोजना प्रमुख तथा इञ्जिनियर आशिक रिजालले जानकारी दिए।

वि.स. २०८२ असार मसान्तभित्र निमार्णको काम सम्पन्न गर्ने गरी हिम सगरमाथा कन्स्ट्रक्सनले करिब २७ करोड ७१ लाखको लागतमा निमार्णको काम सुरु भएको हो ।

निर्माण हुन लागेको पुलको चौडाई ११ मिटर तथा लम्बाई एक सय ८ मिटर रहने छ । नयाँ बन्न लागेको पुलको भारवाहन क्षमता ४० टनसम्मको रहने बताइएको छ।

तस्वीरःहिमाल न्याैपानेबाट

तपाईको प्रतिक्रिया