कांग्रेस पाल्पाको भोली हुने प्रथम सम्मेलन तयारी पूरा

तानसेन। नेपाली कांग्रेस पाल्पाले प्रथम जिल्ला सम्मेलनको तयारी पूरा गरेको जनाएको छ । यही मङ्सिर ३० गते शनिवार हुन लागेको प्रथम जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस पाल्पाले जनाएको छ ।

कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गरेर प्रथम सम्मेलनको सबै तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले सम्मेलन व्यवस्थित र मजबुत पार्टी बनाउन सहयोग पुग्ने बताए। तानसेनमा हुने सम्मेलनमा जिल्लाभरिबाट एक हजारभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी हुने सभापति श्रेष्ठले बताए ।

सम्मेलनबाट राजनैतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित हुनेछ । यस्तै, जिल्लाको विकास निर्माणका सन्दर्भमा समेत छलफल हुने र त्यसले एउटा प्रारूप तयार गर्ने बताइएको छ ।

सम्मेलनको उद्घाटन महामन्त्री गगनकुमार थापाले गर्नेछन् । पार्टीभित्र महाधिवेशन तथा निर्वाचनका बेला बनेको गुट उपगुटको अन्त्य गर्न पनि सम्मेलन फलदायी बन्ने विश्वास काँग्रेस पार्टीको रहेको छ ।

तपाईको प्रतिक्रिया