
तानसेन। जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष राजेश श्रेष्ठको उपचारका क्रममा निधन भएको छ । तानसेन नगरपालिका–७, लामडाँडा निवासी श्रेष्ठको बुधबार निधन भएको हो । गत मंसिर १४ गते अचानक बिरामी भएर प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत श्रेष्ठको काठमाडौंस्थित टिचिङ्ग अस्पतालमा बिहान ११ बजे निधन भएको हो ।
श्रेष्ठलाई आन्तरिक रक्तश्राव भएपछि थप उपचारका लागि काठमाडौंमा लगिएको थियो । पेटमा समस्या देखिएर सामान्य औषधि सेवन गरेका श्रेष्ठलाई आकस्मिक आन्तरिक रक्तश्राव भएपछि अस्पताल भर्ना गरिएको परिवारका सदस्यले बताएका छन् । क्रिकेट संघका उपाध्यक्ष शैलेन्द्र भट्टराईका अनुसार प्रभासबाट थप उपचारका लागि १९ गते काठमाडौं लगिएको थियो ।
श्रेष्ठ लुम्बिनी प्रदेश क्रिकेट संघका कोषाध्यक्षका साथै लुम्बिनी प्रदेशकै खेलाडी छनोट समितिका संयोजकसमेत थिए ।
२०६० सालमा गठन भएको जिल्ला क्रिकेट संघको श्रेष्ठले अहिलेसम्म नेतृत्व लिएका थिए । श्रेष्ठका श्रीमती र दुई छोरा छन् ।