
तानसेन। पाल्पामा वैदेशिक रोजगारीमा कामदारको सहजीकरणका लागि आप्रवासी स्रोत केन्द्र (सहायक कक्ष) स्थपना गरिएको छ । तानसेन नगरपालिकाको सक्रियतामा जिल्ला प्रशासन कार्यालय पाल्पामा सहायता कक्ष स्थापना गरिएको हो।
वैदेशिक रोजगारीका लागि जाने कामदारसंग हुनुपर्ने जानकारी, सूचना र सीप नभएको समयमा सहायता कक्षबाट सहजीकरण गर्ने लक्ष्य कार्यक्रमको रहेको छ ।
राहदानी बनाउन पुग्नेसंगै वैदेशिक रोजगारीमा जान इच्छुक कामदारले सहायता कक्षबाट परार्मश लिन सक्ने हुँदा कुनै समस्या आइपरेमा सम्बन्धित निकायसम्म पहुँच बनाइदिने कामसमेत यो कक्षबाट हुने तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।
केन्द्रलाई सामी र हेल्भेटास संस्थाले प्राविधिक सहयोग उपलब्ध गराउनेछ । सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको दुई पक्षीय सम्झौताअनुसार सञ्चालन हुनेछ।