तानसेनको टक्सारमा योमरी महोत्सव हुँदै

तानसेन। तानसेन नगरपालिका वडा नं ३ टक्सार टोलमा शनिबार योमरी महोत्सव हुने भएको छ । योमरी पूर्णिमाको अवसर पारेर मैत्री क्लव तानसेनको आयोजना र वडा नं ३ को सहयोगमा एक दिने महोत्सव हुन लागेको हो ।

स्थानीय खानाका परिकार, भेषभुषा कला संस्कृती,मौलिक परम्परा संरक्षणका लागि महोत्सव आयोजना गरिएको मैत्री क्लव टक्सारले जनाएको छ । नेवार समुदायमा बढी प्रचलनमा रहेको योमरी प्रत्येक वर्ष खाने चलन रहेको छ । नेवारी भाषामा यो भनेको मनपर्ने मरी भनेको रोटी अर्थात मनपर्ने रोटीको रुपमा योमरीलाई लिने गरिन्छ ।

नयाँ धान भित्र्याएपछि मंसिर पूर्णिमाको अवसरमा नयाँ धानको रोटी बनाएर परिवार, आफन्त, इष्टमित्रलाई बाड्ने आफु पनि खाने परम्परा रहेको नेवार समुदायमा रहेको छ । काठमाडौं उपत्यकामा मुख्य पर्वका रुपमा मनाइने यो पर्व त्याँबाट बसाई रसी आएका नेवार समुदायले सुरु गरेका हुन् ।

महोत्सवमा तीन वटा योमरीको एक सय रुपैँया, नेवारी खाजा सेटको दुई सय रुपैँया दररेट तोकिएको छ । महोत्सवमा नेवारी संस्कृतिसहित नृत्य तथा कला प्रदर्शन, योमरीलगायत अन्य नेवारी खानाको परिकारका स्टल रहने आयोजक संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया