
तानसेन। पाल्पाको तानसेनमा सम्पन्न नगरपालिकास्तरीय प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि तानसेन नगरपालिका १ (ए) ले जितेको छ । टुँडिखेल मैदानमा शुक्रबार सम्पन्न भएको फाइनल खेलमा वडा नं. ९ लाई ८ विकेटले पछि पार्दै १ (ए) ले उपाधि जितेको हो ।
उपाधि जितेसँगै १ (ए) ले नगद ६० हजार, सिल्ड, प्रमाणपत्र, पदक प्राप्त गरेको छ । उप-विजेता बनेको वडा ९ ले नगद ३० हजार, प्रमाणपत्र र पदक प्राप्त गर्यो ।
फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको वडा ९ ले १९.४ ओभरमा सबै विकेट गुमाएर ८१ रन मात्र जोडेको थियो । निर्धारित २० ओभरको खेलमा उसका लागि गोपाल तिमिल्सेनाले ३३ बलमा २४, भुवन पाण्डेयले २५ बलमा १९ र विजयकुमार बौडेलले ९ बलमा ९ रन बटुले ।
बलिङतर्फ १ (ए) का अर्पण अर्याल र रुपेश बस्यालले ३।३, विमर्श दर्नालले २, श्रीधर बस्याल र शिव शर्माले १।१ विकेट लिए । ८२ रनको लक्ष्य लिएको १ (ए) ले १६ ओभरमा पूरा गर्दै उपाधि जित्न सफलको हो। रुपेश बस्याल र विशाल दर्नालले उत्कृष्ट साझेदारीले टिमलाई विजयी बनाउन सफल भए । विशालले ५२ बलमा ४३ रन र रुपेशले २१ बलमा ३१ रनको योगदान गरे । रुपेश बस्यालले ८ रन जोडे । बलिङतर्फ वडा नम्बर ९ का भुवनराज पाण्डेले २ विकेट लिन सफल भए ।
तानसेन नगरभित्रका ९ वडाका १४ टिम सहभागी प्रतियोगिता लिग कमनक आउटका आधारमा खेलाइएको थियो । फाइनलमा म्यान अफ दी फाइनल १ (ए) का विशाल दर्नाल भए । खेल अवधिभर ११ विकेट र ४४ रन बटुल्ने अर्पण अर्याल प्लेयर अफ दी सिरिज बने ।
खेल अवधिमा १५ विकेट लिने १ (ए) कै विमर्श दर्नाल उत्कृष्ट बलर भए भने, १११ रन बटुल्न सफल उत्कृष्ट ब्याट्सम्यान रुपेश बस्याल भए । विजयी तथा उपविजयी खेलाडीलाई लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर राना, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतीक्षा गाहा सिँजाली, नगर खेलकुद विकास समितिका संयोजक हेमन्तराज शाक्यलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।