
काठमाडौं। गएका २४ घण्टामा देशका जिल्लामा भएका सवारी दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । गएराति दाङको भालुवाङमा १२, काठमाडौंमा ५ र बागलुङमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।
दाङको भालुवाङमा राप्ती पुलबाट यात्रुबाहक बस खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बाँके नेपालगन्जकी ६० वर्षीया कुसुम बस्नेत, मकवानपुर हेटौंडाका ३९ वर्षका सौरभ विष्ट, काठमाडौं चन्द्रागिरी नगरपालिका १५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारतको उत्तर प्रदेशका ३१ वर्षका मुने, विहार पूर्वी चम्पारणका ६७ वर्षका जोगेन्द्र राम, र बहराइचका ४५ वर्षका चेतराम सिल्पकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै जुम्लाका ४० वर्षका मुनबहादुर रावत, रुकुम गोतामकोटका २५ वर्षका दीपक कामी, चितवन भरतपुरका ३५ वर्षीय अनिल खड्का, बाँके खजुराका वर्षका सञ्जय केसी, कोहलपुरका २८ वर्षका अर्पण थापा र ३० वर्षीय रामवरण हरिजनको पनि मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका २३ जनामध्ये तीनजना सामान्य उपचारपछि घर फर्केका छन् भने बाँकी २० जनाको कोहलपुर, बुटवल र दाङमा उपचार भइरहेको छ ।
नेपालगन्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस राति सवा १० बजे पुलबाट नदीमा खसेको थियो । गाडी चालक सल्यान त्रिवेणी ४ का २८ वर्षका लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको अवस्था सामान्य छ ।
यस्तै थानकोट-चित्लाङ सडक खण्डअन्तर्गत काठमाडौंको चन्द्रागिरी नगरपालिका(४, सेतो पहरामा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । कार अनियन्त्रित भएर सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
जिपमा ६ जना रहेकोमा चार जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा काठमाडौंको मैतीदेवीका ओमकारनिधि तिवारी, कल्पना तिवारी, लाजिम्पाटका महेशकुमार गौतम, स्मारिका गौतम र प्रियान्स गौतम छन् ।
यसैगरी बागलुङमा आज बिहान भएको भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुर्तिबाङ बजारबाट ढोरपाटनतर्फ गइरहेको जिप ढोरपाटन नगरपालिका-५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरी नगरपालिका-११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइते तीन जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।