रुरु क्षेत्र धाम रिडीमा देश विदेशका श्रदालुको घुइचो

तानसेन। नेपालको चार धाममध्येको एक धार्मिक एंव सास्कृति क्षेत्र रिडी रुरु क्षेत्र धाममा रिडीमा माघे संक्रान्तिको अवसरमा भक्तजनको बाक्लो उपस्थिती रहेको छ। पश्चिम नेपालकै प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको रुरुधाम क्षेत्र गएरातिदेखि नै देशका विभिन्न जिल्लासंगै भारतका विभिन्न स्थानबाट कालीगण्डकी स्नान गरी ऋषिकेशको दर्शनका लागि श्रदालुको भीड लागेको हो।

मेला भर्न आएका हजारौँ भक्तजनले पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीस्थित कालीगण्डकी नदी किनारमा स्नान गरे फर्किएका छन् । यस्तै नदी तटमा रहेको ऋषिकेश मन्दिरमा पुगेर विशेष पूजा गर्ने भक्तजनको भीड पनि विगतका वर्षमा भन्दा बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले जानकारी दिए।

रुरु धाम क्षेत्रको कालीगण्डकी नदीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण, ऋषि ऋण तिरिने धार्मिक विश्वास छ । सोही अवसरमा श्रद्धालुहरूको भीड लाग्ने गर्दछ । माघे संक्रान्तिमा रिडीमा आफ्ना पितृहरूलाई पिण्ड दिनेहरूको समेत भीड लाग्ने गर्दछ । रिडीमा आफ्ना पितृहरूलाई सम्झेर तिथि श्राद्ध गर्नाले काशी–गया पुगेर दिए सरह फल प्राप्त हुने शास्त्रमा उल्लेख छ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण मानिन्छ ।

रिडी क्षेत्रमा प्राचीन समयमा देवदत्त ऋषिले तपस्या गरेको धार्मिक विश्वास रहेको पाइन्छ । परम्परादेखि नै रिडीमा माघ १, २ र ३ गते पहिलो दिन जेठी, दोस्रो दिन माहिली, तेस्रो दिन कान्छी सङ्क्रान्ति मेला लाग्ने गरेको छ ।

संक्रान्ति मेलासँगै व्यापार–व्यवसाय गर्न पाल्पा, बागलुङ, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट घरेलु सामग्री बिक्रीको लागि व्यापारी पनि रिडीस्थित कालीगण्डकी किनारमा आएका छन् ।

तपाईको प्रतिक्रिया