
पाल्पा। पश्चिमी वायुको प्रभावका कारण अहिले देशैभरको मौसममा सामान्यदेखि आंशिक बदली भएको छ । जसका कारण देशका पहाडी भूभागका एक–दुई स्थानमा सामान्य वर्षा भएको छ ।
आज काठमाडौं उपत्यकासहित केही स्थानमा फाट्टफुट्ट पानी परेको हो । मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार काठमाडौँ उपत्यकाको भक्तपुर आसपास, दोलखा र ताप्लेजुङलगायत क्षेत्रमा छिटफुट पानी परेको छ । जुन १० मिलिमिटर भन्दा कम रहेको छ ।
यस्तै उच्च हिमाली भेगमा हिमपात भएको छ । आज लुक्ला आसपासमा ठुलो मात्रामा हिमपात भएको छ । यस्तै ओखलढुङ्गाको माथिल्लो उच्च भेग जन्तरधाप, ठाँडे, खिजिदेम्बा, पात्लेलगायतका उच्च भेगमा दिउँसोबाट हिमपात भएको छ।
उता दोलखाको कालिञ्चोकमा हिउ परेको छ ।
राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सफा नै रहने छ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी एक–दुई स्थानमा छिटफुट वर्षा हुने मौसमविद् नगरकोटीको भनाइ छ ।
मौसममा भएको बदलीका कारण यो क्रम पर्सिसम्म जारी रहने छ । देशैभरको मौसम आंशिक बदली हुने र तराईमा हुस्सु । कुहिरो लाग्नाले चिसो अझै बढ्ने मौसमविद्ले बताएका छन् ।