माथागढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

तानसेन। पाल्पाको माथागढी गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा बिहीबारदेखि माथागढी ३ कसेनीस्थित सराई खेल मैदानमा प्रतियोगिता सुरु भएको हो।

तीन दिनसम्म चल्ने प्रतियोगितामा १६ विधाका ५४ खेल हुनेछन् । पालिकाभित्रका १३ विद्यालयका विद्यार्थी सहभागी छन् । तीन सय ३८ छात्रा २५५ छात्र गरी पाँच यस ९३ विद्यार्थीको सहभागितामा सुरु भएको खेलले विद्यार्थीलाई शारीरिक र मानसिक रुपमा सवल र सक्षम बनाउन टेवा पुग्ने गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताए।

पालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर विभिन्न कामहरु गरेको बताउँदै अध्यक्ष चिदीले स्वास्थ्यलाई ध्यानमा राखेर खेलकुदमा आकर्षित गर्न गतिविधि गर्दै आएको पनि बताए ।

प्रतियोगितामा स्वर्ण, रजत र कास्य गरी दुई सय ३४ पदक रहेको छ ।रनिङ शिल्ड अन्तरगत भलिबल, कबडी, हाइजम्प, लङ्जम्प, कराते, कातालगायतका खेलहरु खेलाइने बताइएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य नारायण आचार्यले पालिकास्तरीय खेलबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनमा टेवा पुग्ने हुँदा यसका लागि स्थानीय सहरकारले लगानी गर्नुपर्ने बताए ।

लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले खेल क्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान हुने हुँदा खेलाडीले इमान्दारपूर्वक स्वच्छ प्रतिस्पर्धा गरेर आफ्नो र विद्यालयको नाम राख्नुपर्ने भनाइ राखे।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले विद्यार्थीले आफ्नो क्षमताअनुसार लगनशील भएर खेललाई निरन्तरता दिनुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्मा, माथागढी ३ का वडाध्यक्ष तेजबहादुर घर्तीमगर, जिल्ला खेलकुद विकास समिति पाल्पाका अध्यक्ष दीपक घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतले पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दे विद्यार्थीले अध्ययनसंगै खेललाई पनि निरन्तरता दिन सुझाव दिए ।

प्रतियोगिताको उद्घाटन सत्रको कार्यक्रम दिव्य ज्योति माध्यमिक विद्यालयका प्रद्यानाध्यापक लोकेन्द्र थापाको सञ्चालन, माथागढी गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेको स्वागत तथा अध्यक्ष चिदीको अध्यक्षतामा चलेको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer