
पाल्पा। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । पाल्पा, रुपन्देही, दाङ, मोरङ, लमजुङ, तनहुँ, कास्की, कैलाली र धनुषा जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
पाल्पाको रम्भा गाउँपालिका–१ पिपलडाँडामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक २८ वर्षीय हेमन्त जिटीको घटनास्थलमै मृत्यु भएको थियो । आइतबार राति रम्भा १ को भुमरस्थित कालिगण्डकी करिडोर सडक खण्डमा पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरस्थित सडकमा मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ । लु.५८ प २७२८ नं.को मोटरसाइकल र युपी ५५ एएन १११२ नं.को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा लु.५८ प २७२८ नम्बरको मोटरसाइकल चालक कपिलबस्तु शुद्धोधन गाउँपालिका–५ बस्ने ४५ वर्षीय शिव शंकर यादव र युपि ५५ एएन १११२ नम्बरको मोटरसाइकल चालक भारत सिद्धार्थनगर ग्राम कक्रहवाका ३० वर्षीय जय प्रकाश गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता मोरङको लेटाङ नगरपालिका–५ खेरुवास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । को.१८ प ६२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–२ बस्ने १८ वर्षीय जेनिस राईको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
लमजुङको दोर्दी गाउँपालिका–४ सिमल बिसौनीस्थित सडकमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ग.१ ज ७५६१ नम्बरको बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार सोही गाउँपालिका–४ बासबोट बस्ने ४५ वर्षीय पुर्णबहादुर तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमजुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस्तै तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित सडकमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ग.१ ख ४१८१ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा ट्रकमा सवार देबघाट गाउँपालिका–३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिका–११ काहुँस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ग.१३ प ६४२५ नं.को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका–१३ कमलपोखरीका १६ वर्षीय सन्तोष रोक्का मगरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस्तै दाङका लमही नगरपालिका–९ झ्वाडीस्थित सडकमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्र.३–०१–००५ ख ९७१९ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार बर्दिया गेरूवा गाउँपालिका–१ थापापुरका ३६ वर्षीय भिम नाथ योगी र बर्दिया मधुवन नगरपालिकाका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
कैलालीको घोडाघोडी नगरपालिका–२ पाण्डेचोकस्थित सडकमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना.४ ख १३६५ नं को टिपर अनियन्त्रित भई दुर्घटना हुँदा टिपरमा सवार बाँके कोहलपुर नगरपालिका–७ का २४ वर्षीय दिन दयाल थारुको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
यस्तै धनुषाधको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ फेचहा मोडस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चालक महोत्तरी एकडारा गाउँपालिका–४ हलखोरीका सिताराम मुखियाको २५ वर्षीय छोरा किशन मुखियाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सबै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।