काठमाडाैं। नेपाल आइसिसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको खेलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो।
१४६ रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा अफगानस्थानमाथि १ विकेटको जित निकालेको हो । नेपालले ३२ बल बाँकी हुँदा १४९ रन बनायो ।
नेपालको जितका लागि कप्तान देव खनालले अर्धशतक महत्त्वपूर्ण बन्यो। अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान खनालले ७३ बलमा सात चौकासहित अर्धशतक बनाए । ८९ बलको सामना गर्दै कप्तान खनालले ५८ रन जोडे ।
नेपालका लागि दिपक बोहोराले ४२ बलमा २७ सुवास भण्डारीले ९ रन बनाए । यस्तै आकाश त्रिपाठी १६ र अर्जुन कुमालले १० रन बनाएपनि अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्। दिपक डुम्रे ५, दीपेश कँडेल ४, विपिन रावलले २ रन बनाए भने। गुलसन झा र आकाश चन्द एकएक रनमै आउट भए ।
शुक्रबार दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्क मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा १० विकेट लिँदै अफगानिस्तानलाई १४५ रनमा समेटेको थियो।
समूह ‘डी’मा रहेको नेपाल यसअघि लगातार दुई खेलमा पराजित भएको नेपालले सुपर सिक्सको यात्रा तय गर्न सफल भएको छ ।
नेपालले अब भारत र बंगलादेशसँग खेल्ने भएको छ । नेपाल समूह डी को निर्णायक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको हो ।
समूह डी बाट नेपाल, पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगेका छन् । शनिबार हुने पाकिस्तान र न्युजिल्यान्डबीचको खेलपछि समूहको शीर्ष र दोस्रो टोली निर्धारण गर्नेछ ।
यी तीन टोली समूह ए बाट आउने तीन टोलीसँग सुपर सिक्समा हुनेछन् । समूह एबाट भारत, बंगलादेशले शीर्ष २ मा रहँदै सुपरसिक्समा स्थान पक्का गरेका छन् र नेपालले यी दुई टोलीसँगै सुपर सिक्समा खेल्ने छ ।
यो समूहमा आयरल्यान्ड र अमेरिका छन् यी २ मध्ये १ टोली तेस्रो भएर आउने छ । भारतसित खेल्न बाँकी रहेको अमेरिकाको कुनै अंक छैन । आफ्ना सबै ३ खेल खेलिसकेको आयरल्याण्ड २ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।
नेपालले सुपर सिक्समा समूह ए को पहिलो र दोस्रो स्थानमा रहेर आउने टोलीसँग खेल्नुपर्ने हुन्छ । सुपर सिक्सको नियम अनुसार आफ्नो स्थानको टोलीले अर्को समूहबाट आउने त्यहिँ स्थानको टोलीसँग खेल्नु पर्दैन त्यसैले समूह ए बाट तेस्रो स्थानमा रहेर आउने टोलीसँग नेपालले खेल्ने छैन ।
त्यस्तै समूह ए को शीर्ष टोलीले समूह डी को दोस्रो र तेस्रो नम्बरको टोलीसँग खेल्नुपर्ने हुन्छ । समूह ए को दोस्रो स्थानमा हुने टोलीले समूह डी को शीर्ष र तेस्रो टोलीसँग सुपर सिक्समा खेल्नेछ ।
तालिका अनुसार नेपालले ३१ जनवरीमा समूह ए को दोस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ । नेपालले २ फेब्रुअरीमा समूह ए को शीर्ष टोलीसँग खेल्नेछ ।
समूह बी र सी बाट आउने तीन तीन टोलीबीच सुपर सिक्समा पनि यहि नियम लागु हुनेछ । दुबै सुपर सिक्सबाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सुपर सिक्समा समूह चरणको अंक तालिका पनि गणना हुन्छ ।
सेमिफाइनलमा पुग्नका लागि नेपालले सुपर सिक्समा समूह ए को शीर्ष र दोस्रो भारत र बंगलादेश दुबै टोलीलाई हराउन आवश्यक छ ।