
तानसेन। ऐतिहासिक एवं पर्यटकीय स्थल पाल्पाको रानीमहल जाने सडक बन्द हुने भएको छ । रानीमहल जाने क्षेत्रको बैकुन्ठे भीर नजिकै सडक निर्माण गर्नुपर्ने भएकाले ४८ दिनका लागि सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
तानसेनदेखि रानीमहलसम्म जाने सडक यही माघ १७ गतेदेखि आगामी चैत ५ गतेसम्म बन्द गरिने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए।
रानीमहल जाने सडकको बैकुन्ठे भीर क्षेत्रमा सडक बनाउनुपर्ने र सो क्षेत्रको सडक साँघुरो रहेकाले बन्द गरेर निर्माणको काम गर्नुपरेको स्थानीय प्रशासनले जनाएको छ ।
रानीमहलसम्म जानका लागि अन्य वैकल्पिक बाटो प्रयोग गर्न सकिने सडक पूर्वाधार कार्यालय पाल्पाले जनाएको छ । सो अवधिमा तानसेन–अर्गेली–कमलपोखरी–छेर्लुङ् सडक प्रयोग गरेर रानीमहलसम्म जान अनुरोध गरेको छ ।