तानसेन। पाल्पाबाट यो वर्ष ४६ करोड बढीको सुन्ताला निकासी भएको छ । जिल्लाको विभिन्न स्थानबाट ४६ करोड ७२ लाख रुपियाँको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

गत वर्ष ४३ करोड ३५ लाखको सुन्तला बिक्री भएको पाल्पामा गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन कम भए पनि सुन्तलाले राम्रो भाउ पाउँदा जिल्लामा भित्रिने रकम बढेको हो ।

जिल्लाबाट गत वर्ष नौ हजार ३१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । किसानले गत वर्ष सरदरमा प्रतिकिलो ४० देखि ४६ रुपियाँमा सुन्तला बिक्री गरेको केन्द्रले जनाएको छ। यो वर्ष भने सरदरमा ५५ देखि ६० रुपियाँमा सुन्तला बिक्री गरेको ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोष चौधरीले जानकारी दिए।

खडेरी र अन्य कारणले यो वर्ष उत्पादनमा थोरै ह्रास आए पनि बजारमा राम्रो भाउ पाउँदा किसानले पाउने रकम बढेको हो । यो वर्ष आठ हजार ८६१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

जिल्लाको रैनादेवी छहरा, रिब्दीकोट, तानसेन, बगनासकाली, पूर्वखोला, माथागढीमा सुन्तला उत्पादन हुन्छ । ती स्थानबाट बुटवल, पोखरा, भैरहवा, चितवन लगायतका स्थानमा सुन्तला निकासी हुनेगरेको छ ।

कम मिहिनेतमा पनि राम्रो आम्दानी गर्न सकिने भएपछि पछिल्लो समय यहाँका अधिकांश किसान सुन्तला खेतीप्रति आकर्षित भएको छन् । पाल्पामा एक हजार १७५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदैआएको छ ।

हरेक वर्ष सुन्तला उत्पादन हुने क्षेत्रफल बढ्ने क्रममा रहेको ज्ञान केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया