
तानसेन। ४२ औं मगर एकता दिवसका अवसरमा पाल्पामा स्थानीय बिदा हुने भएको छ । जिल्लाका दुई नगरपालिका र आठ स्थानीय तहले मगर एकता दिवसको अवसरमा मंगलबार स्थानीय बिदा दिएका हुन् ।
स्थानीय तहहरुले विज्ञप्ति जारी गर्दै बिदाको जानकारी दिएका छन् । दिवसलाई भब्य रुपमा मनाउनका लागि जिल्लाका विभिन्न स्थानमा तयारीसमेत थलिएको छ ।
करिब ५४ प्रतिशत मगर समुदायको बसोबास रहेको पाल्पामा मगर दिवसलाई विशेष महत्वकासाथ मनाउनका लागि यो समुदाय लागि परेको पाका पुस्ताले बताएका छन् ।
पूर्वको रामपुर नगरपालिकाको मगरी संस्कृतिमा आधारित झाँकी प्रदर्शनसहित बेझाँडमा एकीकृत मगर उत्थान समाज र नेपाल मगर संघले संयुक्त रुपमा कार्यक्रम गर्ने तयारी गरेको छ। यस्तै माथागढीको कसेनीमा पनि मौलिक रुपमा दिवस मनाउनका लागि तयारी तीव्र पारिएको वडाध्यक्ष तेजबहादुर घर्तीले जानकारी दिए ।
कसेनीमा स्थानीयको सक्रियतामा श्रमदान, चन्दा र देउसीभैले खेलेर संकलन भएको रकमबाट मगरी मौलिक शैलीमा कुँडुले घरसमेत निर्माण गरिएको छ । यस्तै तिनाउ, निस्दी बगनासकाली, रैनादेवी छहरा, रम्भा, रिब्दीकोट, पूर्वखोला गाउँपालिकाको पनि विभिन्न स्थानमा दिवसका लागि तयारी गरिएको नेपाल मंगर संघ पाल्पाले जनाएको छ ।
सार्वजनिक बिदाका दिन पालिकाभित्रका सार्वजनिक निकाय, संघसंस्था, शिक्षक संस्था बन्द रहने पालिकाले जनाएका छन् । कतिपय स्थानीय तहले बजेट नै विनियोजन गरेर मगर एकता दिवस मनाउने गर्छन् । दिवसको अवसरमा स्थानीय कला संस्कृतिको जर्गेना, मगरी खाना, मगरी भेषभूषा आदिको प्रदर्शन हुने छन् ।