तानसेन। नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले पाल्पा जिल्लालाई चालू आर्थिक वर्षभित्र पूर्ण विदुतिकरण गर्ने लक्ष्य राखेको छ । जिल्लाका निस्दी, माथागढी तिनाउलगायतका विभिनन वडामा हालसम्म पनि केन्द्रीय प्रशारण लाइन पुग्न नसकेको स्थामा पहुँच विस्तार गरी पूर्ण विद्युतीकरणमा लग्ने लक्ष्य राखिएको केन्द्रले जनाएको छ ।
पाल्पा वितरण केन्द्रका प्रमुख दिलिप मरासेनीका अनुसार यो वर्ष जिल्लाको दश वटै पालिकामा विद्युतीकरणको काम समिने लक्ष्यअनुसार काम अघि बढेको हो ।
हालसम्म जिल्लाभरका ७२ वटा वडामा विद्युतीकरण भइसकेको र बाँकी ९ वटा वडामा यो आर्थिक वर्षभित्रै विद्युतीकरण गर्ने लक्ष्य अनुसार काम भइरहेको प्रमुख मरासिनीले जानकारी दिए ।
यो वर्ष निस्दीको वडा नंं १ बाकामलाङ्, वडा नंं ३ झिरुबास र वडा नंं ७ ज्यामिरेका केही गाउँमा विद्युतीकरण हुन बाँकी छ । यस्तै यस्तै माथागढी गाउँपालिकाको वडा नं. ८ बहादुरपुर, वडा नं. ७ रहबास र वडा नं. ६ गोठादीमा पनि विद्युतीकरणको काम भइरहेका तर सम्पन्न हुन बाँकी रहेको केन्द्र प्रमुख मरासेनीले जानकारी दिए। यस्तै तिनाउ गाउँपालिकाको वडा नं. ४ कोलडाँडा र वडा नं. १ कचलमा विद्युतीकरण गर्न बाँकी रहेको छ ।
बाँकी रहेका जिल्लाभरका नौँ वटा वडामा यो आवभित्रै विद्युतीकरण गर्ने लक्ष्यअनुसार काम भइरहेको प्राधिकरणका पाल्पा वितरण केन्द्रले जनाएको छ ।



