सदस्यको परीक्षा लिदै एमाले तानसेन

तानसेन।नेकपा एमाले तानसेन नगर कमिटीले आफ्ना पार्टी सदस्यहरुको परीक्षा लिने भएको छ । नगर कमिटीले चैत्र ५ गते सोमबार परीक्षा लिने तयारी गरेको हो ।

नगर कमिटी अध्यक्ष गुराश आत्रेयका अनुसार परीक्षाका लागि केन्द्राध्यक्ष र केन्द्र तोकेर पार्टी सदस्यहरुको ज्ञानको पुनरताजगी र क्षमता बढाउने अभियान अन्तरगत १४ वटै वडामा संगठित सदस्यहरुको उपस्थितिमा परीक्षा सञ्चालन गरिने भएको हो।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको निर्णयअनुसार परीक्षामा १५ वटा बहुवैकल्पिक प्रश्न सोधिने छ । परीक्षार्थीले आफूलाई सही लागेको उत्तरमा टिक लगाउनुपर्ने छ । लुम्बिनी प्रदेश कमिटीले तयार पारेको प्रश्नपत्र नेकपा एमाले र समसामयिक विषयसंग सम्बन्धित हुने अध्यक्ष आत्रेयले बताए। नेकपा एमालेका थप जिम्मेवारीमा जान अनिवार्यरुपमा परीक्षामा सहभागी भएको हुनुपर्ने व्यवस्था गरिएको छ । आफ्नो वडा भन्दा बाहिर रहेका संगठित सदस्यको अनलाईनबाट परीक्षा सञ्चालन गर्ने तयारी रहेको अध्यक्ष आत्रेयको भनाइ छ ।

परीक्षा सञ्चालनको लागि विहीबार नगर कमिटी पाल्पाको पदाधिकारी बैठक बसेर प्रत्येक वडामा जिल्ला कमिटी सदस्यहरुबाट केन्द्राध्यक्ष, सहजकर्ता र परीक्षा केन्द्र तोकेको छ । जसमा केन्द्राध्यक्षले वडा कमिटी अध्यक्ष र सहजकर्तासंग समन्वय गरी परीक्षा सञ्चालन गर्ने छन् । बैठकमा लुम्बिनी प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज नारायणी शर्मा र जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर इन्चार्ज दामोदर घिमिरेले लामो समय पार्टीमा लागेर समाज रुपान्तरणको लागि काम गरिररहेका संगठित सदस्यहरु परीक्षामा सहभागी हुँदा थप ज्ञान हासिल हुने र पार्टी अझ चलायमान हुने बताए।

बैठकले तानसेन नगरपालिका भित्रका कुखुरा र बाख्रा पालक किसानहरुको लागी चैत्र ९ गते शुक्रबार तानसेनमा विशेषज्ञ पशु चिकित्सक र वित्तीयसंस्थाबाट कुखुरा र बाख्रा पाल्ने तरिका लगायतका व्यावसायिक योजनाका विषयमा विशेष तालिम सञ्चालन गर्ने निर्णय समेत गरेको नगर सचिव महेशलाल शाक्यले जानकारी दिए।

सदस्यहरुलाई उद्यमशीलता वृद्धि गर्न पेशा गरिरहेका वा गर्ने योजना बनाएका सदस्यहरुलाई तालिममा सहभागिता गराइने उनले बताए ।

बैठकले तानसेन नगरकमिटीको पूर्ण बैठक आउँदो चैत्र १७ गते शनिबार रानीमहलमा बस्ने निर्णय गरेको एमाले तानसेन नगर कमिटीले जनाएको छ ।

तपाईको प्रतिक्रिया