
तानसेन। पाल्पा सदरमुकाम तानसेनका स्थानीयले खानेपानी महशुल बापतको करिब ५० प्रतिशत छुट पाउने भएका छन् । नगरभित्र खानेपानी व्यवस्थापन गरिरहेको तानसेन उपभोक्ता समितिलाई नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रले छुटको व्यवस्था गरेको हो ।
विगतमा रहेको ग्राहक वर्गीकरणलाई परिवर्तन गरेपछि समितिले मासिक महशुलमा ४९।६३ प्रतिशत छुट पाएको हो । नेपााल विद्युत् प्राधिकरणबाट तानसेन खानेपानी उपभोक्ता समितिले छुट पाएको पाल्पा वितरण केन्द्रका प्रमुख दिलिप मरासेनीले जानकारी दिए।
तीनधारा, सिस्ने, भुल्के तथा कालीगण्डकी खानेपानी योजना सञ्चालन गरिरहेको समितिले महशुलमा छुट पाएको हो । समितिले सबैजसो स्थानबाट पानी लिफ्ट गरेर तानसेन बजारमा वितरण गरिरहेको छ ।
तानसेन खानेपानी उपभोक्ता समितिले मासिक १४ लाख रुपियाँ बढी खानेपानी महशुल प्राधिकरणलाई बुझाउँदै आएकोमा २०८० माघ महिनादेखि झण्डै ५० प्रतिशत छुट पाएको प्रमुख मरासेनीले जानकारी दिए । उपभोक्ता समितिले छुट पाएपछि समितिको मासिक सात लाख रुपियाँ बचत हुनेछ भने वार्षिक झण्डै एक करोडको विद्युत् महशुलका आर्थिक भार कम हुनेछ ।
तानसेनको खानेपानीको समस्यालाई मध्यनजर गर्दै प्राधिकरणले ग्राहक वर्गीकरण गरेर उपभोक्ता सतितिलाई महशुलमा छुट दिएको जनाएको छ । तानसेनका उपभोक्ताले अहिले पनि प्रतिलिटर पानीका पाँच रुपियाँ बढी तिर्दै आएका छन् ।
खानेपानीको खर्च धान्न नसक्ने भएपछि उपभोक्ताबाट महशुल उठाउन बाध्य भएको उपभोक्ता समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए । तानसेनमा खानेपानीको व्यवस्थापनमा पाँच वटा मुलबाट पम्पिङ् गरेर पानी तानसेनको माथिल्लो भागमा तान्नुपर्ने बाध्यता छ ।
पानी पम्पिङ्ग गरेर वितरण गर्दा विद्युत् महशुल खर्च धेरै लाग्ने भएकाले उपभोक्तालाई खानेपानीको महशुल बढी तिर्नु परेको अध्यक्ष श्रेष्ठले बताए ।