आगलागीका घटना बढ्दै

तानसेन। पहाडी जिल्लाहरुमा खडेरी बढेसंगै आगलागीका घटना बढेका छन् । वर्षा नहुने तथा खेतबारी र खरियाहरुमा व्यक्तिगत रुपमा आलो लगाउँदा पनि घटना बढ्दै अएका हुन् । पछिल्लो साता मात्रै देशका विभिन्न स्थानमा आगालगीबाट धन जनको क्षति भएको छ ।

सरकारले सप्ताहव्यापी रुपमा सचेतनाका कार्यक्रम संचालन गर्दै गर्दा आगलागी र डढेलोका घटना बढेका हुन् ।
यसैबीच पाल्पाका केही जंगलहरुमा यो वर्ष डढेलो लागिसकेको छ । रिब्दीकोट गाउँपालिका वडा नं. ४ भैरवस्थान भित्रको विभिन्न जंगलमा लागेको डढेलोले ४० हेक्टर बढी क्षेत्रमा क्षति पुगेको छ ।

चार दिनपछि नियन्त्रणमा आएको डढेलो नियन्त्रणका लागि स्थानीय सुरक्षाकर्मीले पहल गरेका थिए । यस्तै श्रीनगरको पूर्वी क्षेत्रमा पनि आगलागी भइसकेको छ। अहिले हावाहुरी चल्ने समय भएको हुँदा व्यक्तिगत रुपमा बारी र खरिया सफाईका लागि सल्काएको आगो डढेलो बन्ने गरेको पाइएको छ ।

पाल्पासहितका पहाडी जिल्लाहरुमा चुरे र हमाभारत क्षेत्रहरुमा सल्केका आगो नियन्त्रणमा ल्याउन समस्या देखिने गरेको स्थानीयले बताएका छन् ।

जंगलमा लागेको डढेलो बस्तीमा आउने समस्या एकातिर छ भने नियन्त्रणका लागि स्रोत र साधान नहुँदा जोखिम बढ्ने गरेको स्थानीयले बताएका छन् । डिभिजन वन कार्यालयले पनि नागरिकमा सचेतना फैलाउने कार्य गर्दै सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया