डेढ महिनादेखि बन्द तानसेन-रानीमहल सडक सुचारु

तानसेन। डेढ महिनादेखि मर्मतका लागि बन्द गरिएको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल जाने सडक सोमबारदेखि सञ्चालनमा आएको छ । सडकको हात्तीढुंगा नजिक बैकुन्ठे भीरमा ढलान कार्य गर्नका लागि गएको माघ १७ गतेदेखि आइतबारसम्म ४८ दिन बन्द भएको सडक पुनः संचालनमा आएको हो।

पूर्वाधार विकास कार्यालय पाल्पाले मर्मतका लागि बन्द गरेको सडकको निमाण सकिएसंगै सडक नियमित रुपमा सुचारु भएको कार्यालयका प्रमुख बासुदेव भण्डारीले जानकारी दिए। ढलानको कामका साथै त्यसलाई २८ दिनसम्म पानी राखेर सुक्न दिन पर्ने भएकाले यातायात सुचारु गर्न केही ढिलाइ भएपनि हाल सडक सुचारु भएको छ ।

रानीमहल जाने सवारीसाधन २४ घण्टा नै पूर्ण रूपमा बन्द भएपछि वैकल्पिक मार्ग प्रयोग गर्नु परेको थियो । १५ किलोमिटर दुरीमा पुगिने रानीमहल सडक बन्द भएपछि तानसेन–हार्थोक–अर्गली हुँदै रानीमहल पुग्न ४० किलोमिटर यात्रा तय गर्नु बाध्यतामा रहेका पर्यटकलाई अब भने यात्रामा सहज हुने भएको छ ।

रानीमहल दरबार अवलोकनका लागि दैनिक ५ सय बढी यात्रु यो सडक भएर ओहोरदोहोर गर्ने गरेको तानसेन नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको