पाल्पाबाट चार हजार १८२ विद्यार्थी एसईईमा सहभागी हुँदै

तानसेन। यो वर्ष पाल्पाबाट चार हजार १८२ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई) सहभागी हुने भएका छन् । जिल्लाभरका सामुदायिक विद्यालयबाट तीन हजार ६९५ जना र संस्थागत विद्यालयबाट ४८७ जना गरी सो संख्यामा विदार्थीहरु एसईई परीक्षामा सहभागी हुने भएका हुन् ।

जसमा दुई हजार १८ जना छात्र र दुई हजार १६४ जना छात्रा रहेको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाले जनाएको छ । जिल्लाभरिका २७ जना केन्द्रबाट एसईईको परीक्षा तयारी भइरहेको इकाइ प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।

यो वर्ष नियमिततर्फ चार हजार १० जना र ग्रेड वृद्धिका १७२ जना विद्यार्थी परीक्षा दिने छन् । जसमा दमकडा माविका एक जना दृष्टिविहीन र पाल्पा कारागारका एक जना परीक्षामा सहभागी हुनेछन् । एसईई परीक्षा दिनेमा २६७ जना प्राविधिक धारतर्फका विद्यार्थी हुन् ।

तानसेनस्थित जनता माविमा सञ्चालित एकमात्र खुल्ला विद्यालयबाट जम्मा १५ जनाले एसईई दिने तयारी गरेका छन् । यो वर्ष सबैभन्दा बढी रामपुरस्थित दरौटी मावि केन्द्रबाट २८७ जना र सबैभन्दा कम बगनासकालीस्थित चन्द्र मावि चापपानीबाट ६० जनाले एसईई परीक्षा दिनेछन्।

गत वर्ष २०७९ मा पाल्पाबाट चार हजार ५४६ जनाले एसइइ परीक्षा दिएका थिए । यो वर्ष गत वर्षको तुलनामा ३६४ जना कम विद्यार्थी एसईईमा सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया