तानसेन। सद्भावनाको पर्व होली, आज पहाडी हिमाली जिल्लामा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होली पर्वको विशेषता हो । काठमाडौँ उपत्यकासहित देशका पहाडी र हिमाली जिल्लामा यो पर्व मनाइँदै छ।
विभिन्न समूह, क्वल र संघ संस्थाहरुले होली विशेष कार्यक्रमसमेत आयोजना गरेर पर्व मनाउने गरेका छन् । होली पर्वलाई खुसी साट्ने उत्सवका रुपमा पनि लिने गरिन्छ । पहाडी जिल्लाका ग्रामीण भेगहरुमा भने फागु पूर्णिमाको दिनमा एकापसमा रङ, अबिर दलेर रमाइलो गर्दै मौलिक फागु गाउँने र नाच्ने प्रचलन छ ।
होलीमा बालकदेखि पाका पुस्ताको पनि सहभागिता हुने गर्दछ। हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ ।
अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको हुँदा सोही कथनमा आधारित भई फागु गाउने गरिन्छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।
होली पर्व मनाउँदा समाजमा असमानता र विभेद मेटाउने र सामाजिक सद्भावको विकास हुने गरेको पाइन्छ ।



