सडक डिभिजन पाल्पामा कर्मचारीको मनोमानी, हाजिरी र काज नभरी रजाई

तानसेन। सडक डिभिजन कार्यालय पाल्पाका कर्मचारीले आफू अनुकुल कार्यालय जाने र फर्किने गरेको भेटिएको छ । कार्यालयका अधिंकाश कर्मचारीले आफूखुसी रुपमा हाजिर गरेर कार्यालय छाड्ने गर्दा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारीहरु कार्यालय समयमै मनोमानी ढंगबाट हिडडुल गर्ने गरेको भेटिएको छ ।

बुधबार नेपाल पत्रकार महासंघ पाल्पा शाखाको टोली सडक डिभिजन कार्यालयमा पुग्दा अधिकांश कर्मचारी कार्यालयमा नभेटिएको हो। कार्यलयमा रहेका दरबन्दी, करारमा कार्यरत कर्मचारीले दैनिक हाजिरी गर्नुपर्ने भएपनि व्यवास्ता गरेको कार्यालयमा नबस्दा सेवाग्राही मर्कामा परेका हुन् ।

कर्मचारीले काज र फिल्डमा जाँदा लक बुक भर्ने कुरा त परै जावेस् कार्यालयमा रहेका कर्मचारीले समेत हाजिर नगरी बस्ने गरेको भेटिएको छ । पत्रकारको टोलीले कर्मचारी नै नदेखेपछि प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरेर सो विषय जानकारी दियो । महासंघ पाल्पाको टोलीले सम्पर्क गरेको केही समयमा जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत रमा श्रेष्ठको उपस्थितीमा कमचारीको दैनिक हाजिरी पुस्तिका हेर्दा अधिकांश कर्मचारीले हाजिर गर्ने कुरामासमेत बेवास्ता गरेको भेटियो ।

प्रशासन शाखाका कर्मचारीसंग सोधपछ गर्दा तालिम, गोष्ठीमा जाँदा भम्रण आदेश स्वीकृता गरेर नहिड्ने गरेको, हिल्ड गएकोबारे लक बुक नभरेको र काजको बारेमासमेत उल्लेख गरेको नभेडिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिइन् ।

सडक डिभिजन कार्यालयमा कार्यालय प्रमुख, ४ जना इन्जिनियर, लेखा प्रमुख, लेखापाल, ल्याव असिस्टेन्ट, तीन कार्यालय सहायक र २ सवारी चालकसहित २१ जना कर्मचारी कार्यरत रहेका छन् । महासंघको टोलीले प्रशासन प्रमुख, लेखापाल, ल्याव असिस्टेन्ट, एक जना कार्यालय सहायक र एक जना चालक बाहेक अरु कोही कर्मचारी नदेखेपछि सोधखोज गर्दा चित्तबुझ्दो जवाफ नपाएपछि प्रमुख जिल्ला अधिकारीलाई कार्यालयको अवस्था बारे जानकारी गराएर अनुगमनका लागि अनुरोध गरेको सचिव यज्ञमूर्ती तिमिल्सिनाले बताए ।

सो कार्यालयका प्रशासन प्रमुख तिलबहादुर थापाले नै अन्य कर्मचराीसहित आफू उपस्थित भएको दुई दिनको हाजिर गर्न छुटेको स्वीकार गरे। २० र २१ चैत्रका लागि कार्यालय प्रमुख बाबुराम सापकोटा, लेखा प्रमुख र २ इन्जिनियर पोखरा तालिममा गएको भनिएपनि कार्यालयको रेकर्डमा भम्रण आदेश नभेडिएको तिमिल्सिनाले बताए ।

यस्तै कार्यालयका सूचना अधिकारी दुर्गा गौतमलाई फोन सम्पर्क गर्दा आफू बिदामा बसेको भन्दै अन्य कर्मचारीको बारे आफू जानकार नरहेको जवाफ दिए । उनको पनि गएको ११ गतेदेखि हाजिरी नभएको भेटियो । यस्तै अन्य इन्जिनियर र सवइन्जिनियरको पनि हाजिरी अवस्था उस्तै छ । कुन दिन कहाँ गएको भन्ने लकबुक भरिएको छैन ।

अनुगमनमा पुगेको जिल्ला प्रशासन र पत्रकारको टोलीलाई नासु तिलबहादुर थापाले दैनिक अपनाउनुपर्ने कागजी प्रकृयाका विषयमा सोधेको प्रश्नको स्पष्ट जवाफ दिन सकेनन्। यो कार्यालयको अवस्था प्रतिनिधिमूलक हो , जिल्लाका अधिकाशं सरकारी कार्यालको अवस्था उस्तै छ।

समयमा कार्यालय नजाने, नियमित हाजिरी नगर्ने, र कार्यालय समय नसकिदै कार्यालय छाड्ने गर्नाले सेवाग्राही मर्कामा पर्ने गरेको वगनासकाली गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष ठानेश्वर तिमिल्सिनाले बताए ।

उता अनुगमनकारी निकायको रुपमा रहेको जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन र कर्माचारीलाई काममा कडाई गर्न नसक्दा बेथिती बढेको आम सेवाग्राहीले गुनासो गरेका छ्न।

तपाईको प्रतिक्रिया