
तानसेन। ऐतिहासिक महत्वसंग गासिएको तानसेनको मुल ढोका मर्मत सुरु भएको छ । तानसेनको सित्तलपाटीमा रहेको झण्डै एक सय ७० वर्ष पुरानोमुल ढोका जीर्ण बनेपछि पुरानै स्वरुपमा पुन निर्माण गर्न लागिएको हो ।
तत्कालित प्रधानमन्त्री जङ्गबहादुर राणाका भाई बद्रीनरसिंह कुवँरले दरबार परिसरको सुरक्षाका लागि वि.स. १९११ सालमा बनाएको मूल ढोका जस्र्ण बन्दै गएपछि पुरातत्व विभागले मर्मतसुधारको काम थालेको तानसेन नगरपालिकाले जनाएको छ ।
आगामी असार मसान्तभित्र काम सक्ने गरी मूल ढोकाको मर्मतसुधार सुरु भएको तानसेनका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए । यो मूल ढोका नेपालकै ठूलो ढोका मानिन्छ । यसको मर्मतसुधारका लागि ८१ लाख ९५ हजार १२९ रुपियाँमा ठेक्का लगाइएको नगर प्रमुख श्रेष्ठले बताए ।
तत्कालित समयमा दरबार परिसर वरिपरि डेढ मिटर चौडा कडा चट्टानको पर्खाल र भित्र हातहतियारसहित सेनाको टोली प्रवेश गर्न मिल्ने ढोका बनाइएको थियो । मूल ढोकाको उचाइ पाँच मिटर बढी र चौडाइ तीन मिटर रहेको छ । ढोका बनाउन ठूला काठ र ठूला ढुङ्गाको प्रयोग गरिएको थियो ।
हाल मूल ढोका भत्काउने काम भइरहेको छ । पुरानै स्वरुपमा मुल ढोका बनाउने भनिएपनि समयमा काम नगरी यस्को रुवरुप बिग्रिने चिन्ता बढेको स्थानीयले बताएका छन् ।