
तानसेन। पाल्पामा भएको दुई वटा सवारी दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये एक जना गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्लाको निस्दी गाउँपालिका वडा नं. ३, खाँदरमा लु १ ज २५३५ नम्बरको जन्ती बोकेको जिप शुक्रबार राति ९ बजेतिर दुर्घटना भएको थियो ।
जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ । उनीहरूमध्ये सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिप चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। जिप सडकको छेउमा पिल्टएको अवस्थामा रहेको थियो ।
यस्तै कालीगण्डकी कोरिडोर अतरगत रम्भा गाउँपालिका –१, असर्दीमा कार र मोटरसाइकल आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा रामपुर –५ बस्ने २० वर्षका सन्दिप सेन ठकुरी र सोही स्थानका ६५ वर्षका मनबहादुर खाँड पनि रहेको प्रहरीले जनाएको छ । सन्दीपको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । शुक्रबार बेलुकी ५ बजेतिर बा ११ च ६४४९ नम्बरको कार र लु ४१ प ४४७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे अनुसन्धान जारी रहेको प्रह्रीले जनाएको छ ।