
तानसेन। केही दिनदेखि पाल्पाका विभिन्न स्थानमा आगलागी र डढेलोका घटना बढेका छन् । पछिल्लो समय हावाहुरीसंगै आगो सल्किने र फैलिने हुँदा पाल्पा सदरमुकामसहित जिल्लाभर दुई दर्जन बढी स्थानमा भीषण डढेलो लागेको छ ।
श्रीनगरडाडाँ, गणेश मन्दिर क्षेत्र, डिभिजन वन कार्यालय नजिक वनदेवी क्षेत्र, बतासे, बगनासडाडाँ माथागढीको देउवीर, पूर्वखोला , तिनाउ, रैनादेवी छहरा, रिब्दीकोटसहित जिल्लाका सबैजसो स्थानीय तहका विभिन्न सामुदायिक र निजी वनमा आगो फैलिएको हो।
मानविय असावधानिले सल्केको आगो डढेलोको रुपमा विस्तार हुँदा नियन्त्रण गर्न समस्या देखिएको छ । आगो नियन्त्रणका लागि प्रविधि र दमकल नहुँदा स्थानीयले स्याउला र घरमा सञ्चित गरेको पानी प्रयोग गर्दै आएका छन् ।
खासगरी डाडाँका बस्तीहरु डढेलोको उच्च जोखिममा रहेका छन् । नागरिकलाई सचेत बनाएर जथाभावी आगो नलगाउनका लागि सबै पालिकामार्फत सन्देश प्रवाह गरिएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।
उता रातिको समयमा बस्ती नजिक भीषण डढेलो लागेको हुँदा आफूहरु त्रसित भएर बस्नु परेको स्थानीयले बताएका छन् ।